आगामी कात्तिक १० गते ५० जना श्रमिक कोरिया जान पाउने



काठमाडौं । कोभिड–१९ का कारण लामो समयसम्म रोकिएर रोजगारीमा जान नपाएका श्रमिकहरू आगामी कात्तिक १० गतेबाट जाने पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागको मातहतमा रहेको ईपीएस कोरिया शाखाले आज एक सुचना जारी गर्दै आगामी कार्तिक १० गते पहिलो ५० जना जान पाउने जनाएको हो ।

सरकारले २०१९ मा कोरियाबाट अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाल फर्केका प्रतिबद्ध कामदारहरूलाई कोरिया पठाउने तयारी गरेको हो ।
शाखाले यसअघि नै रोकिएका श्रमिकलाई सीसीभीआईको फारम भर्नको लागि अनुरोध गरेको थियो । हालसम्ममा ११९ जनाले सीसीभीआई फारम भरेका छन् ।

उक्त सीसीभिआई फारम भरी नामवली सूचीमा परेका श्रमिकलाई विशेष सावधानी अपनाएर लैजाने तयारी गरेको शाखाले जनाएको छ ।
सरकारले ११९ श्रमिकमध्ये खोप नलिएका वा एक डोज मात्र खोप लिएकालाई विरेन्द्र सैनिक छाउनी अस्पतालमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको छ ।

त्यस्तै, शाखाद्वारा सूचिकृत बीमा कम्पनीबाट तोकिए बमोजिमको बिमा गर्नुपर्नेछ । कोरिया सरकारले विभिन्न शर्त राखेको हुनालेसो सर्त पूरा गरेर मात्रै जान पाउने व्यवस्था गरेको छ । जसमा उडान हुनुभन्दा ४८ घण्टा पहिला अनिवार्य पीसीआर परीक्षणमा नेगेटिभ आएकालाई मात्रै पहिलो उडानको लागि प्रक्रिया अगाडि बढाइनेछ ।

पीसीआर परीक्षणमा नेगेटिभ आएकाहरूलाई उडान पूर्व कामदारको खर्च व्यहोर्ने गरी तोकिएको स्थानमा सेल्फ क्वारेन्टिन बस्नुपर्नेछ । सेल्फ क्वारेन्टिन अवधिमा पूर्व प्रस्थान अभिमूखिकरण सञ्चालन गर्ने शाखाले जनाएको छ ।

साथै, कोरिया पुगेपछि कोरिया सरकारले तोकेको स्थानमा १४ दिन कामदारको आफ्नै खर्च क्वारेन्टिन बस्ुनपर्ने व्यवस्था गरेको छ । त्यसैले कोरिया एचआरडी सर्भिसबाट प्राप्त निर्देशनअनुसार १४ दिन बराबरको १५ सय अमेरिकन डलर वा कोरियान मुद्रा आफुसँग लिएर जानुपर्ने व्यवस्था रहेकाले सोको लागि शाखाको समन्वयमा आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु