कोरोनाका कारण रोकिएका श्रमिक कोरिया जान पाउने, पहिलो चरणमा ५० जना लैजाने



काठमाडौं । काभिडले गर्दा करिब डेढ वर्षदेखि जान नपाएका नेपाली श्रमिक दक्षिण कोरिया जान पाउने भएको छ । वैदेशिक रोजगार विभागको मातहतमा रहेको ईपीएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै श्रमिकको रुपमा कोरिया जान पाउने भएको हो ।

शाखाले कमिटेड वर्करका रुपमा गणतन्त्र कोरियाबाट प्राप्त नामावली सूचीमा नाम भएका व्यक्तिहरूले सीसीभीआई फारम भर्न आजको मितिदेखि आगामी २५ गतेसम्ममा कार्यलयमा उपस्थित भई सिसिभिआईको फारम भर्न आग्रह गरेको छ ।

उक्त सिसिभिआई फारम भर्नका लागि श्रमिकले राहदानीको सक्कल र प्रतिलिपि, नागरिकताको प्रतिलिपि, आचारण सम्बन्धी प्रहरी प्रतिवेदन र फोटोसहित कागजातहरू पेश गर्नुपर्नेछ । साथै, शाखाले सिसिभिआईको लागि ६ हजार रुपैयाँ रकम नेपाल बैंक लिमिटेडमा जम्मा गरेको भौचरसमेत पेश गर्नुपर्नेछ ।

त्यस्तै, शाखाले कााभिड–१९ को अवस्थालाई ध्यानमा दिँदै एचआरडी कोरियाबाट प्राप्त निर्देशनअनुसार श्रम करार जारी भएको मितिको पहिलो प्राथमिकताको आधारमा पहिलो फ्लाइटमा ५० जना कोरिया लैजाने भएको छ ।

त्यसमा बाँकीलाई क्रमशः फ्लाइटको व्यवस्था गर्ने शाखाको भनाइ छ ।


क्लिकमान्डु