यती एयरलाइन्सको दशैं तिहार अफर, स्कुटरदेखि हिरा जित्ने अवसर



काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दशैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ ।

उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ ।

यो योजना असोज २१ देखि कात्तिक २४ गतेसम्म यती एयरलाइन्समार्फत् उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ । अग्रीम टिकट बुकिङ गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ ।

३४ दिनसम्म चल्ने यस धमाकेदार दशैं तिहार योजना अन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यमाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमण्डले प्रायोजन गरेकोे हो ।

हर्षोल्लासका साथ मनाइने नेपालीहरुको महान चाडहरुमा यती एयरलाइन्समार्फत् यात्रा गर्नेे सम्पूर्ण यात्रुलाई लक्षित गरेर यो योजना सञ्चालन गर्न लागिएको र यात्रुहरुले पनि आरामदायी र सुरक्षित यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून भन्ने उद्देश्य रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यो अफरमा सहभागी हुनका लागि यती एयरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा चेक–ईन गर्दा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ ।

एकतर्फी यात्रा गर्दा १ वटा मात्र कुपन पाइने छ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने बताइएको छ । अर्थात् एकैपटक दुइतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले ४ वटा ‘लक्की ड्र’ कुपन पाउने छन् ।

‘यती एअरलाइन्सको जहाजबाट जतिधेरै यात्रा गर्नुहुन्छ, त्यति नै धेरै उपहार जित्ने सम्भावना रहने छ,’ प्रवक्ता बर्तौलाले भने ।

कुपनहरु संकलन गरी गोलाप्रथामार्फत् प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सोसल मिडियामार्फत् सार्वजनिक गरिने यती एयरलाइन्सले जनाएको छ । हाल यतीले ५ वटा एटिआर–७२ विमानमार्फत् विभिन्न ८ वटा गन्तव्यहरुमा उडान भर्दै आएको छ ।


क्लिकमान्डु