२० दिनमै कुखुराको मासु एक सय बढीले घट्यो



काठमाडौं । दशैंतिहार नजिकिँदै गर्दा बजारमा ब्रोइलर कुखुराको मूल्य घट्दै गएको छ । करिब २० दिनमै ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी एक सय रुपैयाँबढीले घटेको छ ।

२० दिनअघिसम्म प्रतिकेजी ३ सय ८० रुपैयाँदेखि ४ सय रुपैयाँमा बिक्री भएको थियो । तर, पछिल्ला दिनहरूमा निरन्तर ओरालो लागेको कुखुराको मासुको मूल्य अहिले २७० रुपैयाँदेखि २९० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।

ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलले करिब २० दिनको अन्तरालमा कुखुराको मासुको मूल्य प्रतिकेजी १ सय रुपैयाँदेखि १३० रुपैयाँसम्म घटेको बताए । उनका अनुसार बजारमा पर्याप्तमा मात्रामा ब्रोइलर कुखुरा उत्पादन र खपत पनि भएकाले मूल्य बढेको हो ।

‘केही महिनाअघिसम्म वर्षाका कारण उत्पादनमा निकै प्रभावित भएको थियो । मागअनुसार बजारमा उपलब्ध गराउन नसक्दा मूल्य बढेको थियो,’ उनले क्लिकमान्डूसँग भने, ‘पछिल्ला दिनहरूमा मौसम अनुकुल हुँदै जाँदा उत्पादन बढ्न गई मूल्य घटेको हो ।’

बजारमा माग र आपूर्तिको अवस्था हेरेर कुखुराको मासुको मूल्य तय हुने गर्दछ । हाल दैनिक ५६ लाख केजी बजारमा खपत भइरहेको छ । सोही अनुसार उत्पादन पनि पर्याप्त भएकाले मूल्य घटेको उनको भनाइ छ ।

त्यस्तै, दशैं नजिकिँदै गर्दा बजारमा मासुको खपत बढ्ने भएकाले आगामी दिनमा मूल्य बढ्ने उनको दाबी छ ।


क्लिकमान्डु