विद्युत् प्राधिकरणले लाइन काटेपछि बुटवल, चितवन र धनगढीमा बैंकिङ सेवा अवरुद्ध



काठमाडौं । पोल महशुल विवादमा विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको लाइन काटेपछि विभिन्न क्षेत्रमा बैंकिङ सेवा अवरुद्ध भएको छ ।

इन्टरनेट सेवा प्रदायकको विद्युत् प्राधिकरणको पोलमा रहेको तार काटेपछि चितवन, बुटवल र धनगढीमा बैंकिङ सेवा अवरुद्ध भएको हो ।

विद्युत् प्राधिकरणले पोल महशुल विवादमा शनिबारदेखि लाइन काट्न शुरु गरेको थियो । प्राधिकरणले पोलको भाडादर निर्धारण गरी शुल्क तिर्न आह्वान गर्दा समेत इन्टरनेट सेवा प्रदायकले नमानेपछि शनिबारदेखि विभिन्न स्थामा सांकेतिक रुपमा लाइन काट्न शुरु गरेको थियो ।

जसका कारण विभिन्न क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । जसको असर ती क्षेत्रमा भएका बैंकिङ सेवामा पनि देखिएको छ ।

एक वाणिज्य बैंकका सीइओका अनुसार केही स्थानमा आइतबार ढिला गरी बैंकिङ सेवा शुरु भएको छ भने केही स्थानमा अझै पनि सेवा शुरु हुन सकेको छैन ।

प्राधिकरणको लाइन काटेपछि नेपाल दूरसञ्चार प्राधिकरण, कम्प्युटर एसोसिएसन नेपाल महासंघले विज्ञप्ति जारी गरेरै असन्तुष्टी व्यक्त गरेका छन् । यता इन्टरनेट सेवा प्रदायकले भने पोलका लागि कायम भएको महशुल बढी भएको बताउँदै आएका छन् ।

क्यान महासंघले पोलमा अस्वभाविक रुपमा बढाइएको महशुलका कारण ग्राहकलाई १ सय ४० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म बढी मूल्य पर्ने पनि बताएको छ ।


क्लिकमान्डु