बुध्द एयरको घटना सामान्य इरर होः सहसचिव बुद्धि लामिछाने



काठमाडौं । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ ।

शुक्रबवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो ।

छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए ।

उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताए । सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकोले कहिलेकाहीँ केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गरे ।

‘अस्ति बुद्ध एयरको जुन एउटा घटना भयो,अहिले हामी सबै त्यसको अनुसन्धान गरिरहेका छौं । अस्तिको घटना एउटा प्रिन्सीपल्ली हेर्दा दुर्घटना कसरी हुन्छ ? विमानको इञ्जिन जब स्टार्ट हुन्छ, तब घटनाहरु हुन शुरु हुन्छन्, त्यहाँ बादललगायतका पक्षको सम्मिश्रणका कारण घटनाहरु हुन्छन् । कति घटनाहरु रेगुलेटरलाई पनि थाहा हुँदैन, कति कुराहरु पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ, कति अपरेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ, साना घटनाहरुलाई हामी इरर भन्छौँ, अस्तिको कुरा इरर हो,’ लामिछानले भने ।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए । उनले नागरिक उड्ययन प्राधिकरणलाई हीत हुने गरेर राम्रो सुझाव आए सहर्ष स्वीकार गर्ने बताए ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताए । उनले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

‘घटनाको रिपोर्ट नआएसम्म त्यसमा हामी त्यति कमेन्ट गर्दैनौं, छानबिनमै रहेकोले त्यसबारेमा चर्चा, परिचर्चा गर्दैनौं,’ उनले भने ।

यति एयरलाइन्सका अपरेसन म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इञ्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकाले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए ।

श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताए ।

उनले निरन्तर आयो भने ठूलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठूलो समस्या भन्न नसकिने तर्क गरे । उनले १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताए ।


क्लिकमान्डु