ड्राइभर नभएपछि बेलायतमा चर्कियो तेल संकट



एजेन्सी । चालकको अभावका कारण बेलायतमा इन्धन संकट गहिरिएको छ । सोही कारण इन्धन भर्ने पेट्रोल पम्प अगाडि लामो लाइन देखिएका छन् ।

इन्धन अभावका कारण कैयौँ पेट्रोल पम्प बन्द भएका छन् । इन्धन नै नभएपछि अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको बेलायत सरकारले जनाएको छ ।

पछिल्ला दिनमा ठूला ट्रक तथा लरी चालकको अभाव देखिएको छ । सोही काराण इन्धन आयातमा प्रत्यक्ष प्रभाव परेको हो ।

सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ।

बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले आफुहरुसँग पर्याप्त आपूर्ति रहेको बताएपनि बजारमा इन्धनको हाहाकार भएको छ । तर अवस्थालाई ती मन्त्रीले सेना परिचालनको कदमलाई समझदारी र सावधानीको कदमको रुपमा लिएका छन् ।

तेल आपूर्तिकर्ताले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बीबीसीले जनाएको छ ।

मन्त्रीहरूले आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् । यसले अवस्थामा झनै भयावह बनाइदिएको छ ।

लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंका उत्तिकै बढ्दै गएको छ ।

सरकारले इन्धन ट्यांकर चालकको अभाव हुन नदिन विदेशी एचजीभी चालकका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको जनाएको छ ।

बिपी र सेलजस्ता ठूला उत्पादकहरूले यूकेका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको दावी गरिरहेको भएपनि चालक नै नभएपछि इन्धन पेट्रोल पम्पमा कसरी पुग्न सक्छ भन्ने बारेमा संसय पैदा भएको छ ।

धेरै कारहरूमा सामान्य अवस्थामा भन्दा धेरै तेल हालिएको छ । सोही कारण अवस्था विकराल बन्दै गएको छ । आगामी दिनहरूमा माग सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको भएपनि मानिसहरु त्यसलाई स्वीकार गर्न नसक्ने अवस्थामा पुगेका छन् । इन्धन सहज बनाउनका लागि मात्रै १० हजार बढी चालक आवश्यक रहेको बताइएको छ ।

ब्रेक्जिट, कोभिड, ज्यालाको तह र जेष्ठ जनशक्तिजस्ता कारणले लरी चालक उपलब्ध हुन छाडेका छन् । बेलायत युरोपेली संघबाट बाहिरिएपछि कयौँ युरोपेली चालकहरू आफ्नो देश फर्किएका छन् । यस्तै सीमाको झन्झट र आयमा पर्ने असरका कारण कतिपय चालक अन्यत्र काम गर्न गएका छन् ।


क्लिकमान्डु