युनिलिभरमा गरेको ५० लाख लगानीले रविभक्तलाई अर्बपति बनायो



काठमाडौं । २०४६ सालको राजनीतिक परिवतर्नपछि नेपालमा बैदेशिक लगानीमा उद्योगहरु खुल्ने क्रम अघिबढ्यो । त्यहीबेला बेलायतको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालमा लगानी गर्न आउने भयो ।

बेलायतको हिन्दुस्थान युनिलिभरको नाममा भारतीय बजारमा अगाडि आइसकेको थियो । बेलायती बहुराष्ट्रिय कम्पनी नेपालमा भारत हुँदै लगानी गर्न आएको थियो ।

युनिलिभरले नेपालमा लगानी गर्न आउने भएपछि स्थानीय साझेदार खोजेको थियो । इन्द्रचोकमा जन्मिएका इन्द्रभक्त श्रेष्ठ त्यो बेला चिनिएका व्यवसायी थिए । नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरेको दोस्रो पुस्तामा रविभक्तले व्यवसायलाई अगाडि बढाएका थिए । हिन्दुस्थान युनिलिभरले उत्पादन गर्ने ‘ब्रुकवन’ चियाको बिक्रेता रविभक्तको परिवार थियो ।

दुईवटा व्यवसायिक संस्थाको नेतृत्व गरिसकेको हुँदा इन्द्रभक्तको व्यक्तित्व र रविभक्तको उदाउदो छवीले युनिलिभरले नेपाली साझेदारको रुपमा रविभक्तको परिवारलाई छान्यो । रविभक्त श्रेष्ठपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बने ।

इन्द्रचोकमा जन्मिएका इन्द्रभक्त श्रेष्ठले अगाडि बढाएको व्यवसाय व्यवसायिक घराना भएर एनई ग्रुपको रुपमा अगाडि बढेको छ । एनई ग्रुपले साझेदारीमा युनिलिभर नेपाल बाहेक, सोल्टी होटल, हिमालयन बैंक, युनाइटेड इन्स्योरेन्स, समिट होटल लगायतमा लगानी छ । एनई ग्रुपले गरेको साझेदारीमा सबैभन्दा राम्रो प्रतिफल भने युनिलिभरबाट पाएको देखिन्छ ।

क्लिकमाण्डूको अध्ययनले रविभक्त र उनको परिवारले अरु कम्पनीभन्दा युनिलिभरमा गरेको लगानीबाट बढी प्रतिफल पाएको देखिन्छ । युनिलिभर नेपालको सेयर संरचना ८० प्रतिशत हिन्दुस्थान युनिलिभरको, ५ प्रतिशत श्रेष्ठ परिवारको कम्पनी श्रीबिक्रम ल्याण्ड एण्ड कम्पनीको र १५ प्रतिशत सेयर सर्वसाधारण सेयरधनीको रहेको छ । ९ करोड २० लाख चुक्ता पूँजी रहेको युनिलिभर नेपालमा हिन्दुस्थान युनिभिलरले ७ करोड ३६ लाख,रविभक्तको परिवारको लगानी रहेको श्रीबिक्रम ल्याण्ड एण्ड कम्पनीको ४६ लाख र सर्वसाधारण सेयरधनीको १ करोड ३८ लाख लगानी छ ।

रविभक्तसँग कम्पनी बाहेक व्यक्तिगतरुपमा युनिलिभरमा ३ हजार ९० कित्ता सेयर छ । दोस्रो बजारबाट किनेको सेयर सहित हेर्दा रविभक्तको परिवारको करिब १० प्रतिशत हिस्सा युनिलिभरमा देखिन्छ ।

२३ वर्षमा ५० करोड नगद लाभांश

युनिलिभरमा ५ प्रतिशत सेयर रविभक्तको परिवारको नाममा रहेको श्रीबिक्रम ल्याण्ड एण्ड कम्पनीको छ । यसबाहेक रविभक्त आफै र परिवारका अन्य सदस्यको व्यक्तिगतमा नाममा पनि युनिलिभरको सेयर रहेको छ ।

अहिलेसम्म युनिलिभरमा रहेको श्रीबिक्रम ल्याण्ड एण्ड कम्पनीले मात्र अहिलेसम्म करिब ५० करोड लाभांश बुझेको छ । २०४८ सालमा स्थापना भएको युनिलिभरले सेयरधनीलाई ७ वर्षपछि लाभांश दिन थालेको हो ।

युनिलिभरले आर्थिक वर्ष २०५५/५६ देखि गत आर्थिक वर्ष २०७७/७८ सम्म लगातार लाभांश दिएको छ । उद्योग भएको तथा ८० प्रतिशत विदेशी लगानी समेत भएको र पूँजी बढाउनको लागि नियामकको नीति नहुँने हुँदा युनिलिभरले नगद लाभांशमात्रै दिएको छ । युनिलिभरले २३ वर्षमा सेयरधनीलाई २० प्रतिशत १२७० प्रतिशतसम्म नगद लाभांश दिएको छ ।

युनिलिभरले सेयरधनीलाई ९ अर्ब ६२ करोड रुपैयाँ नगद लाभांश दिएको छ । यस आधारले हेर्दा श्रीबिक्रम ल्याण्ड एण्ड कम्पनीले अहिलेसम्म नगद लाभांश वापत ४८ करोड १२ लाख रुपैयाँ बुझेको छ । लाभांश कर ५ प्रतिशत लाग्छ । ५ प्रतिशत कर कटाउने हो भने युनिलिभरबाट ४५ करोड ७१ लाख रुपैयाँ नगद लाभांश बुझेका छन् । लगानीको तुलनामा भएका अत्याधिक नाफा र युनिलिभरजस्तो ब्राण्डसँगको साझेदारीले रविभक्तलाई व्यवसाय अगाडि बढाउन थप मद्दत पुग्यो । जसले गर्दा उनले अरु व्यवसायमा समेत लगानी बढाउदै गए ।

हिन्दुस्थान लिभरले लग्यो ७ अर्ब ७० करोड

नेपालमा विदेशी लगानीको सफल उद्योगको रुपमा युनिलिभरलाई लिइन्छ । हरेक नेपालीको ३ मध्ये एक परिवारले युनिलिभरका उत्पादन कुनै न कुनै रुपमा प्रयोग गर्छन् । युनिलिभरमा ८० प्रतिशत सेयर लगानी हिन्दुस्थान युनिलिभरको छ । हिन्दुस्थान युनिलिभरले नेपालमा गरेको लगानीबाट साढे २ दशकमा ७ अर्ब ७० करोड रुपैयाँ लाभांश बुझेको छ । लाभांशमा ५ प्रतिशत कर लाग्छ ।

यसरी हेर्दा हिन्दुस्थान युनिलिभरले नेपालमा गरेको लगानीबाट साढे २ दशकमा लाभांश वापत ७ अर्ब ३१ करोड रुपैयाँ लाभांशमार्फत् लगेको छ । अर्थात्, हिन्दुस्थान युनिलिभरले ७ करोड ३६ लाख रुपैयाँको लगानीबाट २५ वर्षमा ७ अर्ब ३१ करोड रुपैयाँ लगेको छ ।

सर्वसाधारण सेयरधनीलाई १ अर्ब ४४ करोड लाभांश

सर्वसाधारण सेयरधनीलाई युनिलिभरले अहिलेसम्म १ अर्ब ४४ करोड रुपैयाँ नगद लाभांश दिएको थियो । युनिलिभर नेपालमा १५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीसँग छ ।

युनिलिभर नेपालमा हुने १५ प्रतिशत सेयर स्वामित्वमा बढी हिस्सा रविभक्तको परिवार र युनिलिभर नेपालमा सर्वसाधारणको तर्फबाट सञ्चालक रहेका बिराटनगरका शंकरलाल अग्रवाल र उनको परिवारसँग छ ।

सूचिकृत कम्पनीमा सबैभन्दा बढी सेयर मूल्य युनिलिभरको सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी सेयर मूल्य युनिलिभर नेपालको रहेको छ ।

सेयर बजारमा ब्यूचिप भनेर चिनिने युनिलिभर नेपालको सेयर मूल्य मंगलबार कारोबार बन्द हुँदा १९३९९ रुपैयाँ रहेको छ । बजार पूँजीकरण १८ अर्ब रुपैयाँ रहेको छ ।

रविभक्तको परिवारको नाममा रहेको श्रीबिक्रम ल्याण्ड एण्ड कम्पनी दोस्रो बजारको मूल्य ८९ करोड ३० लाख हुन्छ । परिवारका सदस्यको नाममा रहेको व्यक्तिगत सेयर स्वामित्व हिसाब गर्दा रविभक्तसँग युनिलिभरको सेयरको सम्पत्ति १ अर्बभन्दा बढी हुन्छ ।


आशीष ज्ञवाली