उत्साहित हुँदै चितवनका पर्यटन व्यवसायी, बुकिङ आउन थाल्यो



चितवन । लामो समयदेखि कोभिड– १९ को मारमा परेका यहाँका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले उनीहरू उत्साहित भएका हुन् ।    
    
 यहाँका पर्यटकीय होटल अहिले माडवारी समुदायको विवाहका लागि बुक हुन थालेका छन् । प्रमुख पर्यटकीय गन्तव्य सौराहामा दैनिक सात सय हाराहारीमा पर्यटक आउन थालेका र बैठक तथा गोष्ठीका बेला यो सङ्ख्या थप हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराईले भने, ‘होटलका १५ देखि २० प्रतिशत कोठा बुकिङ हुन थालेका छन् ।’

सौराहाका होटलमा पाँच हजार ५०० हाराहारी कोठा छन् । “हाल यहाँ अधिकांश नेपाली पर्यटक आएकामा केही भारतीय र युरोपेलीसमेत छन्”, उनले भने, ‘यसबाट हामी उत्साहित छौं ।’    

सङ्घका पूर्व अध्यक्ष एवं जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार सेप्टेम्बर र अक्टोबर महिनामा गोष्ठीका कार्यक्रम बढी हुने गरेको छ ।

उनले अधिकांश होटलमा यस्ता कार्यक्रम भइरहेको बताए । सरकारले अनअराइभल भिसा दिने भएसँगै पाकिस्तान, स्वीजरल्याण्ड, बेलायत र अमेरिकाका पर्यटकले सोधपुछ गर्ने गरेको सञ्चालक घिमिरेले बताए । उनले भारतीय पर्यटकले पनि सोधपुछ गरिरहेको बताए । कोभिडको रेडजोनबाट नेपाल हटेमा पर्यटकको सङ्ख्या झन बढ्ने देखिन्छ ।   
    
सौराहाको होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबार आन्तरिक पर्यटक र अन्य दिनमा गोष्ठीलगायतका कार्यक्रम हुन थालेको बताए । उनले केही मात्रामा विदेशी पर्यटकसमेत आउन थालेको बताए । आउँदो महिना माडबारी समूदायका चार वटा विवाहका लागि होटल बुकिङ भइसकेको अधिकृत गिरीले जानकारी दिए ।

पटिहानीस्थित होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले अबका दिनमा पर्यटकीयस्थल पूर्ववत् अवस्थामा फर्किने विश्वास व्यक्त गरे । पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक रुपमा वृद्धि भइरहेको जानकारी दिँदै उनले कोभिड पुनः नबढे पर्यटक आउछन् भन्नेमा विश्वस्त भएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हो । यहाँ आउने अधिकांश पर्यटक जङ्गल सफारी गर्न रुचाउँछन् । निकुञ्जभित्रको जङ्गल सफारीबाहेक अन्य गतिविधि खुला भइसकेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र तीन चार दिनमा मर्मत गरेर यसै साताबाट जीप सफारी खोल्ने तयारीमा लागेको बताए ।

हाल निकुञ्ज आसपासका सामुदायिक वनमा जीप सफारी भइरहेको छ । बरालले अब चितवनमा पर्यटकको सङ्ख्या राम्रो बढ्ने बताए । पर्यटन विज्ञ डा. विश्व सुवेदीले विगतभन्दा अझै धेरै पर्यटक अब दिनमा आउने अपेक्षा गरे । कोरोनका कारण दैनिक एक करोड ५० लाखभन्दा बढी यहाँका पर्यटकीय होटलले गुमाएको भन्दै उनले अबको समय राम्रो हुने विश्वास व्यक्त गरे ।

सरकारले हवाईसेवा दिन सकेमा नेपालमा विदेशी पर्यटक धेरै आउने डा सुवेदीको भनाइ थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यसका लागि होटल व्यवसायी तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए ।

जिल्लाको सौराहा, पटिहानी, जगतपुर, मेघौली र भरतपुरमा गरी २२५ पर्यटकीय होटल छन् । चितवन नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहा निकुञ्जभित्रको राप्ती नदी नदी किनारमा पर्यटकीय होटल छन् । यहाँ आउने पर्यटक जङ्गल सफारीमा रमाउने गर्दछन् ।

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीलगायत वन्यजन्तु, वनस्पति, चरा, पुतली अवलोकन गर्नको सङ्ख्या पनि उत्तिकै छ ।

निकुञ्ज र आसपासका मध्यवर्ती सामूदायिक वनमा पर्यटकले हात्ती, जीप, पैदल सफारी गर्ने गर्दन् । यहाँको थारु समुदायको खाना र संस्कृति पर्यटकको रोजाइँमा पर्छ ।


क्लिकमान्डु