खाने तेलको मूल्य बढेको बढ्यै, अत्यधिक निकासी हुँदा आन्तरिक उपभोक्ता मारमा



काठमाडौं । पहिलो चरणको कोभिडपश्चात बढ्न थालेको तेलको मूल्य हालसम्म कायमै रहेको छ । करिब एक वर्ष अघिसम्म प्रतिलिटर १६० रुपैयाँमा पाउने सन्फ्लावर तेलको मूल्य अहिले प्रतिलिटर २५० रुपैयाँ पुगेको छ ।

सो अवधिमा सामान्यतया प्रतिलिटर ८० देखि ९० रुपैयाँसम्म तेलको मूल्य बढेको खुद्रा किराना व्यापार संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन् ।

कोभिडभन्दा अघि बजारमा पाइने अधिकांश सन्फ्लावर तेलको मूल्य १५० देखि १८० सम्म थियो । नेपाल विभिन्न उद्योगीहरूले आफ्नो ब्रान्डअनुसार मूल्य तोकेको थियो । सोहीअनुसार बजारमा बिक्री वितरण हुने गर्दथ्यो ।

भान्सामा नभई नहुने तेलको मूल्य कोभिडपश्चात भने निरन्तर बढेर महंगिँदै गएको उपभोक्ताकर्मीहरू बताउँछन् । गत वर्षको असोज महिनासम्ममा खासै तेलको मूल्य नबढेको तुलाधारको भनाई छ । तर, कोरोनाले गर्दा अस्तव्यस्त भएको अवस्थामा उद्योगीहरूले कच्चा पदार्थको मूल्य महंगिएको, कामदारको ज्याला बढेको, ढुवानीमा मूल्य बढेको भन्दै दशैंतिहारपश्चात लगातार मूल्य बढाएको उनको भनाई छ ।

‘बजारमा खाद्यान्नमध्येको सबैभन्दा बढी तेलको मूल्य बढेको छ । करिब एक वर्षको अन्तरालमा एक सयभन्दा बढी मूल्य बढ्नु भनेको इतिहासमै पहिलो पटक हो,’ उनले भने ।

उनकाअनुसार यदि कुनै पनि उद्योगीले नेपाली जनताको हितमा काम गर्ने हो भने मूल्य बढाउनु कुनै कारण छैन । हाल नेपालमा डलरमा ल्याएर प्रशोधन गरी भारततर्फ निकासी गरेकाले पनि मूल्यमा असर पर्न गएको उनको दाबी छ ।

नेपालले चालु आर्थिक वर्षको भदौसम्मको भन्सार विभागको तथ्याङ्कअनुसार १५ अर्ब ६० करोड रुपैयाँको तेल आयात गर्दा प्रशोधन गरी १६ अर्ब ४८ करोड रुपैयाँको निर्यात गरेको देखिन्छ । उक्त तथ्याङ्कले पनि निर्यातमा बढी जोड दिँदा नेपाली बजार मारमा परेको स्पष्ट गर्दछ ।

‘नेपालमा अधिकांश उद्योगीले निकासीमा ध्यान दिएको देखिन्छ,’ उनले भने, ‘यदि नेपालमै उद्योगीहरूले निकासी गर्नुभन्दा खपतमा बढी ध्यान दिएमा उपभोक्तालाई सहज हुनेछ ।’ साथै, सरकारले पनि उपभोक्ता तथा जनताप्रति उत्तरदायी नहुँदा जति महंगिए पनि सोही मूल्यमा खरिद गर्न बाध्य भएको उनी बताउँछन् ।

बजारमा सामान्यतया अन्य खाद्यान्नको मूल्यमा घटबढ हुन्छ । त्यसमा बजारको आयात र खपतअनुसार मूल्य कायम हुँदै आएको छ । तर, तेलमा भने उक्त अवस्था नभएको व्यवसायीहरूको भनाई छ ।

हाल बजारमा पाइने सनफ्लावर तेलको प्रतिलिटर २५० रुपैयाँ, सोयाबिन तेलको मूलय प्रतिलिटर २४० रुपैयाँ र तोरीको तेलको मूल्य कम्पनीअनुसारको २६० देखि ३२० रुपैयाँ रहेको छ । उक्त तेलको प्रतिकार्टुन २५ सय बढी रहेको छ । विगतको दिनमा करिब दुई कार्टुन आउने रकमले अहिले एक कार्टुन पनि पाउन मुश्किल भएको उपभोक्ताहरूको भनाई छ ।

नेपाली भान्सा महंगिएको भन्दै विभिन्न संघसंस्था तथा सरोकारवालाहरूलाई उपभोक्ताकर्मीहरूले ध्यानाकर्षण गरे पनि बेवास्था गरेको उपभोक्ताकर्मीहरूको भनाई छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले तेलको मूल्य बढ्नुको मुख्य कारण सरकार कमजोर भएकाले भान्सा महंगिएको तर्क दिन्छन् । बजारमा मूल्य बढ्ने वित्तिकै मञ्चले ध्यानाकर्षण गर्दै आएका छन् । तर, सरकारले उक्त क्षेत्रमा खासै ध्यान नदिने र अनुगमन पनि देखावटीको लागि मात्रै गर्ने प्रवृत्तिले भान्सा निकै महंगिएको उनको भनाई छ ।

करिब ३ महिनाअघि उद्योगीहरूले प्रतिलिटर ३० रुपैयाँसम्म घटाएको दाबी गरेका थिए । उक्त दाबी गरेपनि बजारमा भने खासै मूल्य नबढेको उनले जिकिर गरे । मूल्य वृद्धिबारे विभिन्न विरोध आएपछि सरकारले उद्योगीहरूसँग बारम्बार छलफल गरेका थिए । उक्त छलफलमा पनि उद्योगीहरूले कच्चा पदार्थको मूल्य बढेकाले तेलको मूल्य बढेको बताउँदै आएका थिए । तर, करिब ३ महिनाअघि भने सरकारसँगको छलफलमा उद्योगीले मूल्य घटाएको दाबी गरेपनि वास्तवमा बजार मूल्य भने नबढेको उनले उल्लेख गरे ।

किन बढ्यो तेलको मूल्य, यसो बताउँछन् उद्योगी

उद्योगीले पनि तेलको मूल्य बढेर कीर्तिमान कायम गरेको स्वीकार्छन । यसबारे उद्योगीहरूले १५ दिनअघि उद्योगीहरूको संगठित संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले संयुक्त रुपमा मूल्यवृद्धिबारे स्पष्ट पारेका छन् ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालको बजारको समेत मुल्य निर्धारण हुने गरेको संघको दाबी छ ।

‘करीब २० महिना कोभिड–१९, कु्रड तेल उत्पादन हुने देशहरूमा भएको भीषण सुख्खाको कारण र अन्य भू–राजनीतिक मुद्दाले गर्दा खाने तेलको मुल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको जनाएको छ ।

संघले २०२० अप्रिलमा अर्जेन्टिनाबाट ल्याएको क्रुड सोयाबिनको तेल प्रति मेट्रिक टन ५८९ डलर रहेकोमा असामान्य वृद्धि भई मे २०२० मा आइपुग्दा प्रति मेट्रिक टन १३ सय ६३ डलर पुगेको महासंघले उल्लेख गरेको छ । साथै, करिब एक वर्षअघि ७०४ डलरमा युक्रेनबाट ल्याएको कु्रड सनफ्लावरको तेलको मुल्यमा वृद्धि भई मे २०२१ मा प्रति मेट्रिक टन १४ सय ९५ पुगेको छ । जसमा युरोपबाट प्रकाशित हुने आयल वल्र्डको २८ मे २०२१ को डकुमेन्टले स्पष्ट पारेको महासंघले जनाएको छ ।

त्यसैगरी २०२१ जुलाई २ मा प्रकाशित आयल वल्र्ड रिपोर्टमा एक महिनामा कु्रड सोयाविनको तेलको मूल्य प्रति मेट्रिन टन १ हजार ९५ डलर र सन्फ्लावर तेलको मूल्य ११ सय ६० डर मूल्यमा झरेको थियो ।

त्यसमा संघले फेरी घटेको कच्चा पदार्थ किन्न नपाउँदै अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय बजार करिब प्रति मेट्रिक टन २ सयदेखि २ सय ५० सम्म वृद्धि भएको थियो । जस अनुसार क्रमिक रुपमा त्यसको असर स्थानिय बजारमा समेत पर्न गएको संघले उल्लेख गरेको छ । आयल वल्र्ड रिपोर्टअनुसार २०२१ अगस्ट २० को रिपोर्टमा प्रति मेट्रिक टन १३ सय २७ कु्रड सोयाबिनको तेल र प्रति मट्रिक टन कु्रड सनफ्लावरको मुल्य भएको जनाएको छ ।

त्यस्तै प्रशोधित खानेतेल उद्योगीहरूको स्थिति उल्लेख गर्दै संघले खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मुल्यमा दोब्बर भएको जनाएको छ । जसले गर्दा वृद्धिका कारण गत वर्षमा महशुल सरदर प्रति लिटर २० रुपैयाँ रहेकोमा हाल प्रतिलिटर ४५ रुपैयाँभन्दाबढी पुगिसकेको संघका अध्यक्ष सन्दिप अग्रवाल बताउँछन् ।

त्यसैगरी, कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तर्राष्ट्रिय भाडा दरमासमेत वृद्धि हुँदा खानेतेलको मुल्यमा प्रति लिटर सरदर २० रुपैयाँदेखि २५ रुपैयाँसम्म वृद्धिको भएको उनले बताए ।

‘सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्यसमेत अन्तर्राष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ,’ उनले भने ।

तेलको मूल्यमा विशेष ध्यान दिई अनुगमन गर्दैछौंः विभाग

अनुगमन तथा बजारमा कालोबजारी रोक्न जिम्मेवार पाएको वाणिज्य आपूर्ति तथा संरक्षण विभागले दशैं नजिकिँदै गर्दा तेलको मूल्यमा विशेष ध्यान दिई अनुगमन गरिरहेको विभागका प्रवक्ता शिवराज सेढाईले बताए ।

विभागले हरेक समयमा तेलको मूल्यबारे गुनासो आएसँगै अनुगमन गर्दै आएका छन् । तर, उद्योगीहरूको छलफलमा कच्चा पदार्थकै मूल्य बढेकाले तेलको मूल्य स्वः बढ्नु स्वाभिव रहेको उनको भनाई छ । साथै, बजारमा तोकेको मूल्य बढी लिएको खण्डमा नेपाल सरकारले कानुन बमोजिम कारबाही गर्ने उनले जिकिर गरे ।

हाल विभागले संयूक्त रुपमा अनुगमन शुरु गरेको छ । उक्त अनुगमनले केही हदसम्म कालोबजारी रोक्ने विभागको दाबी गरेका छ ।


क्लिकमान्डु