विदेशी पर्यटकलाई अनअराइभल भिसाको नीतिले पर्यटन सम्भावनाको ढोका खुलेको छः हान



काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने गरी गरेको निर्णयले स्वागत गर्दै यसले पर्यटन सम्भावनाको ढोका खुलेको बताएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा हानले जारी गरेको विज्ञप्तिमा विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भएको उल्लेख गरिएको छ ।

हानले सम्पूर्ण सेवाहरु बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरेको छ ।

‘अनअराइभल भिसाको नीतिले मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको हामीले महसुस गरेका छौं । साथै विदेशबाट खोपको पूर्ण मात्रा पुरा गरी भ्रमणमा आउने पाहुनाहरुलाई खोपको मात्रा पूरा भएका हाम्रा करिब ९५ प्रतिशत भन्दा बढी अग्रपंक्तिमा रही खटिने कार्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध हुने र यसबाट संक्रमण पनि न्यून हुने हामीले ठानेका छौं,’ हानले भनेको छ ।

हानले विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन हामी सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि यसैसाथ प्रतिवद्धता व्यक्त समेत गरेको छ ।

मुुलुकमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकहरुले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु अति आवश्यक रहेको हानको भनाइ छ ।

‘सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८को शिघ्र पूर्ण रुपमा कार्यान्वयन हुन र कतिपय द्विविधा भएका विषयहरुमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजिकरण गर्न अनुरोध गर्दछौं । यसका लागि हामी व्यवसायीहरुको तर्फबाट पनि आ–आफ्नो तवरबाट सक्दो सहयोग हुने होटल संघ नेपाल विश्वास व्यक्त गर्न चाहन्छौं,’ हानले भनेको छ ।


क्लिकमान्डु