बजेट गन्तव्य: घुम्न जाने हो ? १० हजार भए पुग्छ



काठमाडौं । कोभिडले थलिएको पर्यटन क्षेत्र बिस्तारै रिभकरको चरणमा छ । सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने निर्णय गरेसँगै विदेशी पर्यटक नेपाल आउने बाटो खुलेको छ ।

यद्यपि विभिन्न पर्यटकीय गन्तव्यहरु पनि आन्तरिक पर्यटकलाई स्वागत गर्न शुरु गरिसकेका छन् । लामो समय बन्द भएका गन्तव्यहरु कोभिडविरुद्धको खोप लगाउनेको संख्या बढ्दै जाँदा बिस्तारै आतिथ्यको ढोका खोल्ने तयारीमा जुटेका छन् ।

पर्यटकीय गन्तव्य खुल्दै गर्दा नेपालीहरुको महान चाड दशैं र तिहार पनि नजिक आइरहेको छ । पछिल्ला केही वर्षमा दशैं नेपालीहरुका लागि पर्व मात्रै होइन भ्रमणका लागि मौसम पनि हो । वर्षदिनको कामबाट एकैछिन भए पनि भ्रमणमार्फत् मनोरञ्जन र ज्ञान बटुलौं भन्नेहरुको संख्या पछिल्ला दिनमा बाक्लो हुँदैछ ।

कुनै समय हिमालसम्म पुग्ने पहाडका बाटाहरुमा विदेशी पर्यटक मात्रै देखिन्थे भने अहिले नेपालीहरुको संख्या पनि उसैगरी बढेको छ । जसका कारण सगरमाथादेखि, मर्दी हिमाल जोमसोम मुक्तिनाथसम्म आन्तरिक पर्यटकको घुँइचो देख्न सकिन्छ ।

दशैं नजिँदै गर्दा घुम्ने योजना बनाउनेहरुको संख्या ठूलो हुन्छ । दशैं र तिहार जस्ता विदाको सदुपयोग गर्नका लागि भ्रमणको प्याकेज बनाउनेहरुको संख्या पनि बढ्दो क्रममा छ भन्न सकिन्छ ।

त्यसैले यो दशैं र तिहारको विदाको अवसरमा हामीले केही यस्ता गन्तव्यबारे जानकारी दिँदैछौं । जुन बजेटका हिसाबले सस्ता र भ्रमणका दृष्टिले रमणीय छन् । आउनुहोस् यिनै गन्तव्यबारे चर्चा गरौं ।

१) पोखरा
पोखरा एकपटक पुगेर मन नअघाउने गन्तव्य हो । मर्दी हिमाल, अन्नपूर्ण बेसक्याम्प, जोमसोम र मुक्तिनाथलगायतका गन्तव्यमा ट्रेकिङका लागि ट्रान्जिट प्वाइन्टका रुपमा विकास भए पनि अहिले पोखरामा पर्यटकका लागि टिकाइराख्ने अनेकन सुविधाहरु थपिएका छन् । पोखरामा फेवा, रुपा र बेगनास तालका लागि मात्रै होइन प्राकृतिक सौन्दर्य र एड्भेञ्चर पर्यटनका लागि पनि उपयुक्त गन्तव्य बन्न सक्छ । फेवातालको माथिपट्टी शान्ती स्तुपादेखि पुम्दीकोटमा बिराजमान महादेवको मूर्ती पनि पछिल्लो समय आकर्षणको गन्तव्य बनेको छ । साथै साराङकोटमा प्याराग्लाइडिङदेखि सुपरम्यान जीपलाइन र बञ्जीको मजा पनि लिन सकिन्छ । पोखराबाट नजिकैको रुपाकोट रिसोटबाट देखिने प्रकृतिको सुन्दरता तथा पोखरामा सुविधासम्पन्न रिसोर्ट तथा होटल मात्रै पनि गन्तव्य बन्न सक्छन् । पोखरामात्रै गन्तव्य बनाउने हो भने न्यूनतम ८ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्ममा भरपूर फाइदा उठाउन सकिन्छ ।

२) मर्दी हिमाल
कोभिडका कारण लामो समयसम्म बन्द रहे पनि अहिले फेरि गन्तव्य खुल्न थालेको छ । मर्दी हिमालको यात्रा ३ दिने ट्रेकिङ हो । राजधानीबाट जाँदै हुनुहुन्छ भने कास्कीको काँडेबाट विहानको झिसमिसेमा उकालो लाग्नु भयो भने सूर्यको पहिलो किरण निधारमा पर्दै गर्दा अष्ट्रेलियन क्याम्पसमा पुगिसक्नुहुन्छ । त्यसबाट फरेस्ट क्याम्प हुँदै वादल डाँडासम्म सोही दिन पनि पुग्न सकिन्छ । भोलिपल्ट मर्दीको बेस क्याम्पसम्म पुगेर अन्नपूर्ण र माछापुछ«े हिमालको सपिमैबाट अवलोकन गरेर भोलि वा पर्सीपल्ट पोखरा वा काठमाडौंमै फर्कन सक्नुहुन्छ । बसमा यात्रा गर्दै हुनुहुन्छ भने ८ हजाररुपैयाँदेखि १० हजार रुपैयाँसम्ममा भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ ।

३) अन्नपूर्ण बेस क्याम्प
मर्दी हिमालको तुलनामा एक वा २ दिन बढी लाग्न सक्छ । तर यो गन्तव्य निकै रमाइलोमध्येको एक हो । सामान्यतयाः प्याकेजमा ११ दिनसम्मको हुने टुरमा तपाईं आफ्नै समूह बनाएर हिँड्नु भयो भने सहज हुन सक्छ । यसले बजेट कम भए पनि पुग्छ । यो रुटका लागि तपाईंले औसत १० हजार रुपैयाँ बजेट बिनियोजन गरे मात्रै पुग्छ । ट्रेकिङ र हिमाल मनपराउनेका लागि जीवनमा एकपटक पुग्दा फाइदा हुने ठाउँका रुपमा यसलाई लिन सकिन्छ ।

४) जोमसोम र मुक्तिनाथ
धार्मिक हिसाबले मुक्तिनाथ हिन्दुका लागि पवित्र तिर्थस्थल हो । म्याग्दीको बेनीबाट सार्वजनिक सवारी साधनमा चढ्नु भयो भने साँझपख जोमसोम पुगिन्छ । जोमसोम पुग्नुभन्दा अघि स्याउ फल्ने फार्माको अवलोकनका साथै जोमसोमभन्दा अलिक माथि कागबेनी र त्यहाँभन्दा माथि मुक्तिनाथ मन्दिरको दर्शन गरेर भोलि वा पर्सीपल्ट पोखरा फर्कन सक्नुहुन्छ । यो गन्तव्यका लागि तपाईंले औसतमा १० हजार रुपैयाँ बजेट छुट्याए मात्रै पुग्छ ।

५) काठमाडौं नजिकै
काठमाडौं उपत्यकाबाट यात्रा शुरु गर्दै हुनुहुन्छ र तपाईसँग बजेट वा समयमा निश्चित सीमा छ भने सुकुटे बीच, चित्लाङदेखि दामनसम्मको २ दिने यात्रा गर्न सक्नुहुन्छ । यसका लागि तपाईले प्याकेजमा २५ सय रुपैयाँदेखि खर्चका हिसाबले १० हजार रुपैयाँ खर्च गर्दा मात्रै पनि पुग्छ ।

६) घान्द्रुक
पोखरा हुँदै घान्द्रुक पुग्न धेरै समय लाग्दैन । विहान पोखराबाट बस चढेर नयाँ पुल पुग्नु भयो भने त्यहाँबाट ट्रेकिङ गर्दै उकालो लाग्ने हो भने ७ देखि ८ घण्टासम्म घान्द्रुक पुग्न सकिन्छ । गुरुङ सस्कृति भएको घान्द्रुकबाट हिमालको मनोरम दृश्यावलोकनका साथै यात्राको रमाइलो लिन सकिन्छ । यसका लागि औसतमा ८ हजार रुपैयाँ भए पुग्छ ।

७) घोरेपानी–पुनहिल
घान्दु्रुकबाट घोरेपानी र पुनहिलसम्म पनि जान सकिन्छ । एक दिन घान्द्रुकसम्म र अर्को दिन घोरेपानीसम्म हिँडेर जान निकै रमाइलो हुन्छ । ठाडै उकालो र त्यसमाथि जंगलको बाटो हुँदै जान सकिन्छ । घोरेपानीमा रात बिताएपछि विहान ४ बजे नै उठेर पुनहिलको डाँडाबाट सुर्योदयको सुन्दर दृश्य हेर्न सकिन्छ । यसका लागि ८ हजार रुपैयाँदेखि १२ हजार रुपैयासम्म बजेट भ्रमण गर्न सकिन्छ ।

८) गोसाइकुण्ड
हिन्दुहरुको पवित्र तिर्थस्थल गोसाइकुण्ड पनि ट्रेकिङका लागि राम्रो रुट हो । यहाँ जानका लागि ७ हजार ५०० रुपैयाँ बजेटमा उक्त यात्रा पूरा गर्न सकिन्छ । प्याकेजमा जाने हो भने कम्पनीहरुले न्यूनतम ७ हजार ५०० रुपैयाँदेखि १२ हजार ५०० रुपैयाँसम्म खर्च गरेर जान सकिन्छ ।

९) हलेसी महादेव
हलेसी महादेवको टुर १ रात २ दिनमा पूरा गर्न सकिन्छ । राजधानीबाट नकिजपर्ने गन्तव्यमध्ये यो पनि एक हो । जसमा ३ हजार रुपैयाँ खर्चमा यात्रा पूरा गर्न सकिन्छ ।

१०) लुम्बिनी र सौराहा
राजधानीदेखि नजिक पर्ने र पूर्वयोजना बिनै हिँड्न सकिने गन्तव्यमा पर्ने यी गन्तव्य पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । सौराहा जंगल सफारीको मजा लिन सकिन्छ भने लुम्बिनीमा धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिन्छ । यी गन्तव्यमा जानका लागि औसतमा १० हजार रुपैयाँको बजेट बिनियोजन गर्दा मात्रै पनि पुग्ने गन्तव्य हुन् ।


क्लिकमान्डु