वायुसेवा निगम विवादः महाप्रबन्धकले भने- कर्मचारीले अनधिकृत खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाए

357
Shares

काठमाडौं । नेपाल एयरलाइन्समा जारी कर्मचारीको आन्दोलन अझ चर्किएको छ । आन्दोलनरत कर्मचारीले विवाद सुझल्याउनेतर्फ भन्दा पनि चर्काउनेतर्फ अगाडि बढेको महाप्रबन्धक डिमप्रसाद पौडेलले आरोप लगाएका छन् ।

कर्मचारीहरुले बुधबार साँझ निगमका निर्देशक, उपनिर्देशकलगायतका उच्च पदस्थ कर्मचारीलाई कोठामा बन्धक बनाएर कोष अनाधिकृत खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाएपछि निगममा जारी विवाद अझ चर्किएको हो ।

निगमका महाप्रबन्धक पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफू कर्मचारीलाई काम गरेको अवधिको तलब कुनै पनि हालतमा भुक्तानी गर्ने विषयमा प्रतिबद्ध भएको बताए । उनले विज्ञप्तिमार्फत् बजेट पारित गर्न नदिएको अवस्थामा कसरी तलब भुक्तानी गर्न सकिन्छ भन्ने विषयमा तालुकदार मन्त्रालयमा छलफल गरी नियमित सहमति लिइ दशैं अगाडि नै वितरण गर्ने तयारी गरिरहेको अवस्थामा उच्च कर्मचारीलाई कोठामा थुनी बन्धन बनाएर अनाधिकृत खर्चका लागि जबरजस्ती हस्ताक्षर गर्न लगाएकोमा निगमको संगठनात्मक पद्धति, अनुशासन र संस्थागत सुशासनमा गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।