कार्यान्वयन नहुँदै विभागले हटायो ट्रायलमा आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालकको अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारी साधन प्रयोग हुने व्यवस्था कार्यान्वयन नहुँदै हटाएको छ ।

विभागले गत २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नै सवारीबाट ट्रायल दिन पाउने व्यवस्था गरिएको थियो । तर, विभागले गत भदौमा पुनः संशोधन गरेर उक्त व्यवस्था हटाएको छ ।

विभागले यसअघि जारी गरेको निर्देशिकामा स्पष्ट रुपमा जुनसुकै सवारी साधनको ट्रायलमा आफ्नो सवारी साधन प्रयोग गर्न मिल्ने व्यवस्था उल्लेख गरेको थियो । हाल उक्त व्यवस्थालाई हटाएर पुनः विगतकै अवस्थामा पुर्याएको छ ।

अब जुनसुकै परीक्षार्थीले ट्रायलका लागि आफ्ना सवारी साधन प्रयोग गर्न पाइने छैन । साथै, परीक्षार्थीले ट्रायल सेन्टरकै सवारी चलाउनु पर्ने व्यवस्था गरेको छ ।

हाल ट्रायल सेन्टरहरूले ट्रायल दिने परीक्षार्थीसँग प्रतिव्यक्ति ३ सयदेखि ५ सय रुपैयाँसम्म असुल्दै आएका छन् ।

विभागले निर्देशिकामा उल्लेख गरेअनुसार लिखित परीक्षामा अब ४÷४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । जसमा विभागले सो अंकभार १०० नम्बरको हुने जनाएको छ ।

यसअघि ५/५ अंकको २० प्रश्न सोध्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । यसअघि ७० अंक अनिवार्य गरिएको थियो ।


क्लिकमान्डु