दुई महिनामै १३ सय किलो सुन बिक्यो, सुन खपत सामान्य अवस्थामा फर्कदै



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामै अत्याधिक सुन बिक्री भएको छ । गत वर्ष कोरोना महामारीका कारण खासै राम्रो व्यापार हुन सकेको थिएन । यो वर्ष भने कोरोनाकै समय भएपनि बजार खुल्ला भएकाले अत्याधिक सुनको खपत हुन थालेको व्यवसायीहरूको भनाई छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालसम्ममा १३ सय केजी सुन आयात भई वितरण भईसकेको जनाएको छ । हाल सरकारले व्यवसायीहरूलाई दैनिक २० केजीको दरले सुन वितरण गर्दै आएका छन् । उक्त सरकारले वितरण गरेको सुनको कोटा पनि अझै व्यवसायीहरूले बजारको आवश्यकताअनुसार अपुग रहेको बताउँदै आएका छन् ।

चालु आवको दुई महिनाको अवधिमा १३ सय केजी आयात भई बिक्री गरिसकेको महासंघका महासचिव धर्म बर्जचार्यले बताए । गत वर्ष कोरोना महामारीले गर्दा तीजलगायत दशैंमा व्यापार हुन सकेको थिएन । तर, यो वर्ष तीजसँगै दशैंको लागि माग उच्च रहेको उनको भनाई छ ।

सामान्य अवस्थामा नेपालमा करिब ७ हजार केजी बढी सुन आयात हुन्थ्यो । तर, गत वर्ष कोरोना महामारीले गर्दा करिब ४ हजार केजी मात्रै आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । त्यस्तै, पहिलो पटक कोरोना महामारी फैलिएको अवस्थामा २४ सय केजी मात्रै आयात भएको थियो । जुन हालसम्मकै न्यून सुन आयात भएको तथ्याङ्क हो ।

गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँको सुन आयात भएको थियो । यो वर्ष भने पहिलो महिनादेखिनै आक्रमक हिसाबले सुनको आयात भएको देखिन्छ । आयातकै तथ्याङ्क हेर्ने हो भने सोयाबिनको तेल, पेट्रोलियम पदार्थ र मोबाइलफोन पश्चात सबैभन्दा बढी आयात हुने वस्तुमा सुन देखिन्छ । एकातिर सुनको आयात उच्च भएको अवस्थामा व्यवसायीहरूले मागअनुसारको सुन आपूर्ति नभएको भन्दै विभिन्न निकायसँग लबिङ गरी सुनको कोटा बढाउन आग्रह गर्दै आएका छन् ।

‘गत वर्ष कोरोनाले खासै व्यापार हुन सकेको थिएन,’ महासंघका महासचिव बज्रचार्यले भने, ‘यो वर्ष बजार खुल्ला हुने वित्तिकै माग बढी भएकाले कोटा बढाउनुपर्छ ।’

उनकाअनुसार माग भएको अवस्थामा सरकारले हाल कम्तिमा पनि ३० केजी बनाउनुपर्ने देखिन्छ । व्यवसायीहरूले यसअघि देखिनै दैनिक ३० केजीको माग राख्दै आएका छन् भने बजारमा माग आएको अवस्थामा दैनिक ४० केजीसम्म उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्। तर, हासम्म सम्बोधन नभएको व्यवसायीहरूको भनाई छ ।

सामान्य अवस्थामा फर्कँदै खपत

सरकारले सामान्य अवस्थामा दैनिक २० केजी निर्णय गरेपनि व्यवसायीहरूले २५ केजीसम्म सुन वितरण हुन्थ्यो । सो समयमा उक्त वितरण भएको सुन दैनिक खपत हुन्थ्यो । यस्तै, यो वर्ष कोरोनाकै अवस्थामा अत्याधिक खपत हुन थालेको महासंघले जनाएको छ ।

महासंघका महासचिव बज्रचार्यले अहिलेको आयात र खपत हालसम्मकै उच्च मान्न सकिने बताए । सामान्य अवस्थामा जसरी सुन खपत भइरहेको सोही अवस्थामा अहिले बजार फर्किएको उनको बुझाई छ । यसले गर्दा सरकारे यस क्षेत्रका कोटा बढाए व्यवसायीलाई सहज हुने जिकिर गरे ।

नेपालले आर्थिक वर्ष २०७३/७४ मा २३ अर्ब २३ करोडको ५४ सय ५० केजी सुन आयात गरेको थियो । त्यस्तै, आव २०७४/७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख रुपैयाँको ७ हजार २३२ केजी, आव ७५/७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको ७ हजार ४९३ केजी, आव २०७६/७७ मा २४ सय केजी र आव २०७७/७८ मा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँको ३९ सय २४ केजी सुन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी, अहिले असोज ६ गतेसम्ममा १३ सय केजी सुन वितरण भइसकेको छ । साथै, वाणिज्य बैंकहरूलाई आयात गर्न अनुमति दिने बैंकर्स एशोसियनसँग मौज्दात रहेको महासंघले जनाएको छ । यसले गर्दा महासंघका अनुसार करिब २ महिनाको अवधिमा १० अर्ब बढीको सुन आयात भइसकेको जनाएको छ ।


क्लिकमान्डु