बुध्दले बोक्यो एकैदिन ८ हजार ३ सयबढी यात्रु, आन्तरिक उडान खचाखच



काठमाडौं । आन्तरिक हवाई उडानमा यात्रुको चाप बढ्दा बुध्द एयरले शुक्रबार हालसम्मकै सबैभन्दा धेरै ८ हजार ३४० यात्रु बोकेको छ । बुध्द एयरले हालसम्म एकै दिन बोकेको यात्रुको संख्यामा यो सबैभन्दा धेरै हो ।

बुध्द एयरका अनुसार विभिन्न गन्तव्यबाट १४८ वटा उडानमार्फत् बुध्द एयरले भारी संख्यामा यात्रु बोकेको हो । आन्तरिक हवाई उडानमा बुध्द एयर एक्लैको बजार हिस्सा ५० ५५ देखि ६० प्रतिशत हिस्सा ओगटेको छ ।

ट्रंकरुटमा मात्रै नभइ प्रादेशिक रुटमा पनि हवाई उडान शुरु गरेको बुध्दले पछिल्लो समय आक्रमक रुपमा बजार बिस्तार गरिरहेको छ । बुध्द एयरले कोरोना महामारीकै बीच पनि विमान खरिद गरी सञ्चालनमा ल्याएको छ ।

पर्यटकीय नगरी पोखरालाई नेपालगञ्ज, भरतपुर, भैरहवा र सिमराबाट समेत दोहोरो उडान गर्दै आएको बुध्द एयरले उडान संख्या अझ बढाउने योजना बनाएको छ ।

राजमार्गमा भइरहेको अवरोधका कारण पनि हवाई यात्रु बढेको हो ।


क्लिकमान्डु