८ वर्षपछि गुण एयरलाइन्सको ‘बाउन्स ब्याक’, ब्राण्ड जोगाउने राजेन्द्र शाक्यको अठोट यसरी भयो पूरा



काठमाडौं । सफलता र असफलता व्यावसायिक जीवनका नछुट्टिने पाटा हुन् । सफलताको सम्भावना र असफलताको जोखिमका बीच शुरु गरिने व्यावसायिक यात्रामा कहिले कहाँ पुगिन्छ टुंगो हुँदैन ।

तर, सफलता र असफलताको मिठो र नमिठो दुबै अनुभवपछि फेरि उठेर आकाश छुने सपना बोकेर उड्न सक्नु चानचुने कुरा होइन ।


ठ्याक्कै यस्तै भोगाइ अनुभव गरेका पात्र हुन् राजेन्द्र शाक्य ।

व्यावसायिक यात्रामा सफलता र असफलता दुबैको चरम अनुभव भोगेका उनले जसरी ‘बाउन्स ब्याक’ गरेका छन् । उनीसँगै उनले शुरु गरेका व्यवसाय पनि क्रमशः ‘बाउन्स ब्याक’ हुँदै उदाइरहेका छन् । त्यसको पछिल्लो नतिजा हो गुण एयरलायन्स ।

जसरी ढलेको रुख मृत प्रायः भइसक्दा पनि पालुवाहरु उम्रन्छन् त्यसैगरी शाक्यले इतिहासबाट नामै मेटिने गरी थला परेको गुण एयरलाइन्समा करिब २ वर्षअघि यस्तै आशाका पालुवा पलाउँदै गरेको देखेका थिए ।

मनमनै पलाएको त्यो पालुवामा उनले मलजल गरे, स्याहारसुसार गरे, चूनौतीपूर्ण अवस्थामा हुर्काए फलस्वरुप आज वृक्ष बनेको छ । र, ८ वर्षपछि फेरि गर्वका साथ नेपाली आकाशमा उड्न उँचो उडानका तम्तयार भएको छ ।

यो उडानमा २ वटा बीचक्राफ्ट र ५ वटा जेटस्ट्रिम विमानले साथ दिएका छन् ।

एयरलाइन्सलाई आकाशमा उडाउने दिन शुरु हुँदै गर्दा पाइलट, विमान परिचारिकासहित करिब १५० जना सहकर्मी छन् । जसले विमान उडान शुरुवातमा साथ दिइरहेका छन् ।

करिब ८ वर्षपछि फेरि गुण एयरलाइन्सकै नाममा विमान आकाशमा उडाउँदै गर्दा कस्तो अनुभव भइरहेको छ त ?

‘बन्द भइसकेको एयरलाइन्स फेरि उडाउने प्रयास आफैमा निकै चूनौतीपूर्ण हो, आज फेरि गुण एयरलाइन्स आकाशमा उड्दैछ । योभन्दा खुसीको क्षण सायदै अरु होला,’ शाक्यले क्लिकमाण्डूसँग यसो भनिरहँदा आँखामा तैरिएको खुसीको लहर लोभलाग्दो देखिन्थ्यो ।

आफैले जन्माएर हुर्काएको व्यवसायको शीर फेरि उठदै गर्दा उँचो उडानका लागि योग्य बन्दै गर्दा प्राप्त खुसीलाई शाक्यले शब्दमा उतार्न सकिरहेका छैनन् । शाक्य व्यावसायिक प्रतिष्पर्धाभन्दा पनि गुणमार्फत् स्तरीय सेवा दिँदै गुणस्तरको पर्याय बन्न खोजिरहेका छन् ।

एयरलाइन्स उद्योगमा विरलै हुने घटनाको साक्षी राजेन्द्र र गुण एयरलाइन्स बनेका छन् । बन्द भएको एयरलाइन्स सोही ब्राण्ड र एउटै व्यवस्थापनबाट आकाशमा पुनः उड्नु विश्वमा नै विरलै हुने घटना हो ।

शुरुवातमै विमानस्थलमा वातनुकूलित २ वटा विद्युतीय बसले यात्रुलाई सेवा दिनेछन् । आन्तरिक टर्मिनलमा यात्रुलाई विद्युतीय सवारीसाधनले सेवा दिने गुण पहिलो एयरलाइन्स कम्पनी बनेको छ ।

‘मेरो उद्देश्य ‘प्राइस वार’मा जाने वा अन्य कुनै पनि प्रकारको प्रतिष्पर्धामा जाने भन्ने सोच छैन, मात्रै के हो भने समयमा उडान र गुणस्तरीय सेवामा मानक नै स्थापित गर्ने गरी अघि बढ्नुपर्छ भन्ने हो,’ उनले भने ।

उनलाई गुण एयरलाइन्सबाट कमाउनु छैन ।

‘राम्रोसँग सञ्चालन भइदियोस् र वर्षौवर्षसम्म नेपाली आकाशमा उडान भरिरहोस्, यात्रुलाई गुणस्तरीय सेवा दिइराखोस्, यहाँभन्दा बढी चाहना छैन,’ उनले भने ।

गुण एयरलाइन्स फेरि उडाउने योजना गर्दा उनले २ वटा बीचक्राफ्टका साथमा नयाँ विमान खरिद गर्ने योजना बनाएका थिए । त्यसैबेला यति एयरलाइन्सबाट ५ वटा जेटस्ट्रिम विमान खरिद गर्ने प्रस्ताव आयो ।

व्यावसायी शाक्यले हिसाब गरे, एउटा विमान खरिद गर्ने पैसाले ५ वटा जेटस्ट्रिम विमान आउने बराबर जस्तै भयो । एकातिर मूल्य सस्तो पर्यो भने अर्कोतिर विमानको संख्या पनि थपियो ।

शाक्यले गुण एयरलाइन्सलाई पुनर्जीवन दिनका लागि १ अर्बभन्दा बढी पैसा खन्याइसकेका छन् ।

‘सोचे जस्तो नहुने, कुनै काम गर्न लाग्यो बजेट जति अनुमान गरिन्छ त्योभन्दा झण्डै दोब्बर भइदिने, जसले गर्दा करिब सवा १ अर्ब रुपैयाँको आसपासमा लगानी भइसकेको छ,’ उनले भने ।

रंगरोगनमा मात्रै कुरा गरौं न, १ करोड रुपैयाँमा सकिएला भनेर शुरु गरेको करिब ३ करोड भेट्यो’ उनले अनुभव सुनाए ।

गुणले आइतबार असोज १ गतेदेखि फेरि उडान गर्दैछ । पहिलो उडान काठमाडौं-पोखराका लागि हुनेछ । बीचक्राफ्टले १८ जना यात्रु बोकेर काठमाडौं–पोखरा र १८ जना नै यात्रु बोकेर पोखरा-काठमाडौंसम्मको उडान भरेपछि सोही दिन काठमाडौं-भरतपुर-काठमाडौंको यात्रा सकाएर उडान यात्राको शुरुवात गर्नेछन् ।

शाक्यका अनुसार यति एयरलाइन्सबाट खरिद गरिएका ५ वटा जेट स्ट्रिम विमानले नागरिक उड्ययन प्राधिकरणबाट अनुमति प्राप्त गरिसकेका छन् । पहिलो चरणमा दोस्रो सातादेखि अन्य विमानले पनि उडान शुरु गर्नेछन् ।

शाक्यले शुरुवातमा ट्रंकरुट काठमाडौंदेखि पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्जका साथै बिराटनगरसम्मको उडान गर्नेछन् । समयक्रमसँगै प्रादेशिक उडानमा पनि जाने उनको योजना छ ।

८ वर्षपछि उड्यन क्षेत्रमा कस्तो परिवर्तन पाएका छन् त शाक्यले ?

शाक्य भन्छन्, ‘पहुँच र सहजताका हिसाबले धेरै फरक भइसकेको छ । पहिले उच्च र उच्च मध्यम वर्गका मानिसहरु बढी चढ्थे भने अहिले मध्यम, निम्न वर्गका मानिस पनि विमानको यात्रा गर्न थालिसकेका छन् ।’

यसका दुई वटा कारण छन्, पहिलो त विमानको भाडा र बसमा यात्रा गर्दा लाग्ने भाडामा धेरै फरक नपर्नु र अर्को टिकट काट्ने सहज प्रणाली । त्यसो त ८ वर्षअघि पनि केही विमान कम्पनीहरुले सस्तो टिकटमा सेवा दिएका थिए । तर अहिले तुलनामा भाडा सस्तो भने थिएन ।

शाक्यले ५/७ महिनापछि प्रादेशिक रुपमा समेत उडान शुरु गर्ने योजना बनाएका छन् ।

‘पहिलो प्राथमिकता ट्रंकरुटमा हो, त्यसपछि प्रादेशिक रुपमा पक्कै पनि जाने छौं,’ उनले भने ।

शाक्यका शब्दमा विमानले नाफा कमाउनका लागि कम्तीमा ७० प्रतिशत उडान र उत्तिकै मात्रामा अकुपेन्सी हुनु जरुरी छ । सकारात्मक पक्ष कम्पनीसँग ७ वटा विमान छन् । जसले काठमाडौंदेखि विभिन्न गन्तव्य र ती गन्तव्यबाट काठमाडौंसम्मको यात्रा गर्ने जिम्मेवारी लिएका छन् ।

शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स मात्रै होइन, गुण ज्वेलर्स, गुण सिनेमा हल, गुण हाउजिङ तथा अपार्टमेन्ट, गुण रियलस्टेट, गुण को-अपरेटिभलगायतका कम्पनीले पनि उसैगरी पुनर्जीवन पाएका छन् ।


कमलकुमार बस्नेत