दिगो सीप परियोजना कार्यान्वयन गर्न १ अर्ब ८८ करोड अनुदान



काठमाडौं । स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई १ अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी ४ वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेशागत तालिममा खर्च हुनेछ ।

मुलुकका बेरोजगार युवावर्गलाई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्न स्वीस सरकारबाट अनुदान प्राप्त हुनलागेको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

सामाजिक–आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औँल्याउँदै परियोजनाबाट युवावर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास लिइएको छ ।

औद्योगिक प्रशिक्षार्थी तालिम, अल्पकालीन पेशागत तालिम, कामदारको सीप अभिवृद्धि, पेशागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाताबीच सहकार्य, उद्योग–व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रणालीसमेत परिसयोजनामार्फत कार्यान्वयन हुनेछ ।


क्लिकमान्डु