१४ वाणिज्य बैंकमा केन्द्रीय बैंकको स्थलगत अनुगमन, भेटायो यस्ता त्रुटी



काठमाडौं । नेपाल राष्ट्र बैंकले दर्जन बढी वाणिज्य बैंकहरुको स्थलगत सुपरिवेक्षण गरेको छ । केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले १४ वटा वाणिज्य बैंक गएर अनुगमन तथा निरीक्षण गरेको हो ।

जसमध्ये ८ वटा वाणिज्य बैंकको फिल्ड सुपरिवेक्षण सम्पन्न भइसकेको छ भने ६ वटा वाणिज्य बैंकमा राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षण विभागका टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेको छ ।

केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले अनसाइड र अफसाइड दुबै तबरले बैंक तथा वित्तीय संस्थाहरुको अनुगमन तथा निरीक्षण गरिरहेको हुन्छ । तर, गत आर्थिक वर्षमा भने कोभिड–१९ संक्रमण जोखिमका कारण लामो समयसम्म फिल्ड सुपरिवेक्षण स्थगित भएको थियो ।

गत वर्षको तेस्रो त्रैमासदेखि मात्र बैंक तथा वित्तीय संस्थाको फिल्ड सुपरिवेक्षण शुरु भएको हुँदा अघिल्लो आवमा तय गरिएका गत आवका सुपरिवेक्षणीय तालिकाअनुसार नै बैंकहरुको निरीक्षण तथा अनुगमन हालसम्म भइरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

गत वर्षको पुसदेखि वाणिज्य बैंकहरुको स्थलगत सुपरिवेक्षण शुरु गरिएको थियो । जसमा हालसम्म नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, मेगा बैंक, सिटिजन्स बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक र ग्लोबल आइएमई बैंकको स्थलगत सुपरिवेक्षण सकिएको छ ।

यी बैंकहरुको निरीक्षण र अनुगमनका क्रममा अधिकांशमा सम्पत्ति तथा दायित्व व्यवस्थापनमा केही कमजोरीहरु पाइएको स्रोतले बताएको छ । साथै, केही बैंकमा एएमएल सेफ्टी, कर्जा बिस्तार र अन्य क्षेत्रको लगानी, प्रोभिजन, कर्जा र निक्षेपको ब्याजदर सम्झौता अनुसारको हेरफेर, सूचना प्रविधिको प्रयोग राष्ट्र बैंकको नीतिगत प्रावधानभन्दा बाहिर रहेको पाइएको बताइएको छ ।

यद्यपि, फिल्ड सुपरिवेक्षणको बिस्तृत अनुगमन टोलीबाट प्रतिवेदन प्राप्त भइनसकेको हुँदा कुन बैंक कस्तो दण्ड जरिवानामा पर्ने सो तय नभएको ती अधिकारीले बताए ।

यसैगरी हाल राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षणको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने टोलीले ६ वटा बैंकमा सुपरिवेक्षण गरिरहेको छ । जसमा बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, नविल बैंक, एनसीसी बैंक, प्रभु बैंक र एनआइसी एशिया बैंकको स्थलगत सुपरिवेक्षण भइरहेको छ ।

यी बैंकहरुको सुपरिवेक्षण अन्तिम चरणमा रहेको हुँदा यसपछि बाँकी १३ वटा वाणिज्य बैंकको अनुगमन तथा निरिक्षण शुरु हुने स्रोतले जानकारी दिएको छ ।

सो अघिल्लो आवको सुपरिवेक्षणको आधारमा राष्ट्र बैंकले गत आवको तेस्रो त्रैमाससम्म आधा दर्जन वाणिज्य बैंकलाई कारवाही गरिसकेको छ । स्थलगत अनुगमनका क्रममा देखिएका क्रुटीलाई अध्ययन तथा निरिक्षण गरी तोकिएको नियम विपरीत काम गर्ने प्रभु बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले कारवाही गरिसकेको छ ।


क्लिकमान्डु