नेपाल र बंगलादेशबीच प्रसारण लाइन र सुनकोशी -३ जलविद्युत् निर्माण गर्न सहमति



काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युतीय प्रसारण लाइनका साथै सुनकोशी–३ विद्युत् आयोजना अगाडि बढाउनका लागि सहमति भएको छ ।

मंगलबार भिडियो कन्फरेन्समार्फत् सम्पन्न सचिवस्तरीय बैठकमा उक्त सहमति भएको हो । बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की तथा बंगलादेशका विद्युत् उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान थिए ।

जलविद्युत् क्षेत्रमा सहकार्यका लागि नेपालबाट प्रस्तावित सम्भावित ५ वटा जलविद्युत् आयोजनामध्ये पहिलो चरणमा सुनकोशी–३ जलविद्युत् आयोजना अगाडि बढाउन आयोजनाको स्थलगत भ्रमण डिसेम्बरसम्ममा पूरा गर्ने सहमति समेत भएको छ ।

बैठकले नेपाल र बंगलादेशबीच विद्युत् व्यापार, नेपालको जलविद्युत् विकासमा बंगलादेशको सरकारी तथा निजी लगानी, नेपाल र बंगलादेशबीच अन्रदेशीय विद्युत् प्रसारण लाइन, माथिल्लो कर्णाली जलविद्युत्ु आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युत् खरिदका लागि भएको प्रगति तथा नेपाल र बंगलादेशबीचमा नवीकरणीय उर्जाको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा भदौ २८ गते भएका सहमति अनुमोदन समेत गरेको छ ।

बैठकले विशेष गरी नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको आवश्यक तयारीका लािग नेपालका तर्फबाट विद्युत् प्राधिकरण र बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी दीर्घकालीन उपाय स्वरुप नेपाल–बंगलादेशबीच प्रसारणलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय बैठकमार्फत् सहमति जुटाइ डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन सम्बन्धी कार्य अगाडि बढाउने सहमति भएको छ ।

साथै नवीकरणीय उर्जाको प्रबद्र्धन, सोलार होम सिस्टम र उर्जा दक्षता क्षेत्रमा नेपालको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र बंगलादेशको दिगो र नवीकरणीय उर्जा विकास प्राधिकरणबीच प्रविधि तथा सीप आदानप्रदान गर्ने सम्बन्धमा सहमति भएको छ ।

साथै यी दुई देशबीच आ–आफ्नो उर्जा क्षेत्रमा विद्यमान विशेषत्रताका आधारमा जनशक्ति क्षमता अभिवृद्धि गर्न, अनुभव आदान–प्रदान गर्न उपयुक्त कार्यक्रम सञ्चालन गर्ने र आवश्यकता अनुसार सम्झौता गर्ने समेत सहमति भएको छ ।


क्लिकमान्डु