ओलाको इलेक्ट्रिक मोटर उद्योगमा महिलाले मात्रै काम गर्ने, १० हजारले रोजगारी पाउने



एजेन्सी । ओलाका अध्यक्ष र ग्रुप सीइओ भाविस अग्रवालले सोमवार तमिलनाडुमा रहेको ओलाको म्यानुफ््याक्चरिङ प्लान्ट ‘ओला फ्युचरफ्याक्ट्रि’मा केवल महिला कर्मचारीले मात्रै कामगर्नेे बताएका छन् । अग्रवालले आत्मनिर्भर भारतलाई आत्मनिर्भर महिलाहरुको जरुरत भएको बताएका थिए ।

ओलाका अध्यक्षले ओला फ्युचरफ्याक्ट्री महिलाले चलाउने सबैभन्दा ठूलो उद्योग हुने बताए । यो उद्योग ५०० एकड जमिनमा फैलिएको हुनेछ । कम्पनीले काम थालेपछि यसमा १० हजार महिलाले काम गर्नेछन् ।

कम्पनीले शुरुवातमा प्रत्येक वर्ष १० लाख दुइपाङ्ग्रे उत्पादन गर्नेछ । बजारको मागअनुसार पहिलो चरणमा उद्योगको उत्पादन क्षमतालाई बढाएर २० लाख दुइपाङग्रे तथा चारपाङग्रे गाडी प्रतिवर्ष उत्पादन गर्नेछ ।

उद्योग पूर्णतया निर्माण भएपछि ओला इलेक्ट्रिकको प्रत्येक वर्ष उत्पादन क्षमता एक करोड मोटर सम्म पुग्ने छ । यो संसारमा बन्ने दुइपाङग्रेको १५ प्रतिशत बराबर हुनेछ ।

भाविसले ओलाको जनशक्तिलाई समावेशी बनाउने र हरेक क्षेत्रमा महिलालाई कमाउने अवसर दिनका लागि कदम उठाउने बताए ।
ओलाका संस्थापकले महिलालाई कमाउने अवसर दिइयो भने महिलाले परिवारका साथसाथै समाज र राष्ट्रको भविष्य उज्ज्वल बनाउने बताए ।

उनले भारतलाई म्यानुफ्याक्चरिङ हब बनाउनका लागि महिलाको प्रतिभालाई अझै राम्रो बनाउँदै उनीहरुका लागि रोजगारको अवसर सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने बताए ।

ओला इलेक्ट्रिकले अघिल्लो हप्ता शुरु हुने भनिएको ओला इलेक्ट्रिक स्कुटर बिक्री हप्तादिनका लागि रोकेको थियो । ओलाले वेवसाइटबाट खरिदगर्ने प्रक्रिया मिलाएर लाइभ गर्दा प्राविधिक समस्या आएको थियो । ओलाको स्कुटर बिक्री १५ सेप्टेम्बरबाट शुरुहुने बताइएको छ ।
ओलाले अघिल्लो हप्ता ओला एस१ इलेक्ट्रिक स्कुटरका दुईवटा भेरिएण्ट एस१ र एस१ प्रो सार्वजनिक गरेको थियो । ओलाले एस१ को मूल्य ९९ हजार ९ सय ९९ भारु र एस१ प्रोको मूल्य १ लाख २९ हजार ९ सय ९९ भारु राखेको थियो ।


क्लिकमान्डु