इजरायल रोजगारीको परीक्षामा २ हजार बढी पास, असोज १ गतेदेखि उचाइ र तौल परीक्षण



काठमाडौं । इजरायल रोजगारीको अंग्रजी भाषाको परीक्षामा २ हजार हजार बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दै २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेको जनाएको हो ।

विभागमा इजरायल जान इच्छुक ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए ।
जसमध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएको विभागले जनाएको थियो । उक्त परीक्षामा उत्तीर्ण भएकोमा १३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेको विभागले जनाएको छ ।

विभागले भदौ २८ गते १६ परीक्षा केन्द्रमार्फत् सञ्चालन गरेको थियो ।

त्यस्तै, विभागले नतिजा प्रकाशनसँगै उचाइ र तौल परीक्षण तथा अन्तवार्ताको मिति पनि तोकेको छ । जसमा अंग्रजी भाषामा उत्तीर्ण भएका परीक्षार्थीको असोज १ गतेदेखि ९ गतेसम्म उचाई, तौल परीक्षण र अन्तवार्ता लिने सूचनामा उल्लेख छ ।

विभागले व्यावसायिक सीप विकास प्रतिष्ठान भैसेपाटी ललितपुरमा अंग्रेजी भाषा पास गर्नेहरूको उचाइ र तौल परीक्षण तथा अन्तर्वार्ता हुने विभागले जनाएको छ । छनौट भएका उम्मेदवारहरुले उचाई र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन आउँदा दरखास्त फाराम पेश गर्दा अनलाइन प्रणाली एफईआरएमएसमार्फत् बुझाएका सक्कल कागजात र प्रवेशपत्र लिई तोकिएको समयभन्दा १ (एक) घण्टा अगावै अनिवार्य उपस्थित हुनु पर्नेछ ।

तोकिएको उचाई र तौल सम्बन्धि मापदण्ड पूरा नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ । तोकिएको शैक्षिक योग्यता, तालिमका प्रमाण पत्र एवम् अनलाइन दरखास्तका साथ पेश गरिएका कागजातहरु प्रमाणित नभएमा जुनसुकै बखत दरखास्त रद्द हुने विभागले जनाएको छ ।


क्लिकमान्डु