विद्युतीय रकमान्तरको शुल्क तोकियो, न्यूनतम ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म




काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ रकमान्तरको सेवा शुल्क तोकेको छ । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै इन्टर बैक फण्ड ट्रान्सफर गर्दा सेवा प्रदायक संस्थाले दिने शुल्क निर्धारण गरेको हो ।

यसअघिसम्म विद्युतिय रकमान्तर सेवा शुल्क बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रदायक संस्थाले आफु अनुकुल लिने गरेको थिए । सेवा प्रदायक संस्थाले अनावश्यक सेवा शुल्क असुल्न थालेको गुनासो बढेपछि केन्द्रीय बैंकले सेवा शुल्क तोकेको जनाएको छ ।

जसअनुसार ग्राहकले बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रदायक संस्थाले विद्युतिय रमान्तर गर्दा न्यूनतम प्रति ट्रान्जेक्सन १० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँमात्र सेवा शुल्क लिन पाउँछन् ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङमार्फत् विद्युतीय रकमान्तरमा प्रतिकारोबार ५० हजार रुपैयाँसम्मका लागि १० रुपैयाँ, ५० हजार १ रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका लागि २० रुपैयाँ र १ लाखभन्दा माथिको कारोबारको हकमा ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।

साथै, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् गरिने राजस्व भुक्तानी सम्बन्धि कारोबारमा सम्बन्धित सेवा प्रदायकले ३ हजार रुपैयाँसम्मका लागि प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।

साथै, ३ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका लागि १० रुपैयाँ र १० हजार १ रुपैयाँदेखि माथिको कारोबारमा २० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।


क्लिकमान्डु