बुधबारदेखि सरकारले खर्च गर्न नपाउने, राजश्व संकलन भने हुने



काठमाडौं । बुधबारदेखि सरकारले खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभामा नेकपा(एमाले)को नियमित अवरोधका कारण बैठक नियमित रुपमा सञ्चालन हुन नपाउँदाको असर बजेटमा परेको छ ।

गत जेठ १५ गते सरकारले अध्यादेश मार्फत ल्याएको चालु आवको बजेट ६० दिनभित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण हुनुपर्ने थियो । त्यो समयसीमा भनेको भदौ ३० गतेको हो ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश गत साउन ३ गते संसदमा पेश गरिएको थियो । एमालेको चर्को नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले यही भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए ।

मंगलबार विचार गरियोस् भन्ने सैद्धान्तिक प्रस्ताव मात्रै स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गतेका लागि मात्रै राखिएको छ । यस आधारमा भदौ ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने समयसीमा घर्किएको छ ।

तोकिएको समयभित्र बजेट पारित हुन नसक्दा अब सरकार स्वतः नै बजेट होलिडेमा पर्ने भएको छ । त्यो भनेको सरकारले राजश्व उठाउन पाउँछ, तर बजेटमा समावेश भएका कुनै पनि शीर्षकमा खर्च गर्न पाउने छैन । केही दिन सरकारलाई राज्यकोषबाट खर्च गर्न रोक लाग्ने भएको छ ।

अर्थमनत्री शर्माले पनि राज्यकोषबाट खर्च गर्न केही दिन रोकिन सक्ने स्वीकार गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री शर्माले राज्यकोषबाट हुने खर्च केही दिन रोकिने बताए । उनले ५/७ दिन खर्च रोकिने सक्ने बताए ।

नेपालको इतिहासमा बजेट होलिडे हुन लागेको यो पहिलो पटक हो । अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा केही दिन बजेट होलिडे भएको थियो ।

सरकारले खर्च गर्न नपाएपनि राजश्व उठाउन भने कुनै समस्या पर्ने छैन । पेश्की विधेयक ल्याउने उपाय भएपनि सरकारले त्यसतर्फ सोच नराखेको देखिन्छ । अर्थमन्त्रीले नियमित प्रक्रियाबाटै बजेट पारित हुने समेत बताएका छन् । तर, सदनमा एमालेको अवरोध जारी छ ।

सोमबार सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले सहभागी भएन । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारवाहीका लागि दिएको सूचना सार्वजनिक नगरेको भन्दै सभामुखप्रति तिव्र रोष प्रकट गर्दै आएको छ ।


क्लिकमान्डु