कर्मचारीको पैसा हिनामिना गरेको भन्दै नेपाल एसबिआई बैंकका कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलनमा



काठमाडौं । नेपाल एसबिआर्ई बैंकका कर्मचारीहरुले व्यवस्थापन विरुद्धमा आन्दोलन गर्ने भएका छन् । बैंक व्यवस्थापनले कर्मचारीको सहमति बिना जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराइ योगदान रकम पठाएको भन्दै कर्मचारीहरुले आन्दोलन गर्ने भएका हुन् ।

कोष विरुद्धमा बैंक कर्मचारी संघ लगायत अन्य बैंकका कर्मचारीहरु आन्दोलनरत रही अदालतमा मुद्दा समेत चलिरहेको अवस्थामा गत असार मसान्तमा व्यवस्थापनले कोषमा सबै कर्मचारीहरुका योगदान रकम पठाएको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै अर्को आदेश नहुँदासम्म कोषमा आवद्धता स्वेच्छिक गर्न भनेपनि बैंक व्यवस्थापन कोषबाट सबै कर्मचारीको योगदान रकम फिर्ता गर्ने प्रतिवद्धता गरेको थियो ।

सो अघिसम्म एसबिआई बैंकका कर्मचारीहरुको रकम कर्मचारी संचयकोषमा पठाइन्थ्यो । बैंक व्यवस्थापनले सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोष दुवैमा नै कर्मचारीहरुको रकम नपठाई बैंकमा नै होल्ड गरेर राखेको छ । कर्मचारी सञ्चय कोषमा जाने रकमलाई निरन्तरता दिन बैंक कर्मचारी संघले पटक पटक व्यवस्थापनसँग आग्रह गर्दा समेत वास्ता नगरेपछि व्यवस्थापन विरुद्धमा कर्मचारी संघले असोज ५ गतेदेखि ८ गवतेसम्म आन्दोनल गर्ने उल्लेख गरेको छ ।

कर्मचारी संघले बैंक व्यवस्थापन विरुद्ध सामुहिक सौदावाजीका विषयमा सहमति जुटन नसक्दा, कर्मचारी संचय कोषको हिसाब दुरुस्त नराखेको, गाँउ पालिकामा कार्यरत कर्मचारीलाई २७ महिनाभन्दा बढी काम गर्दा पनि सरुवा नगरेको र कर्मचारीहरुको सेवा सुविधा घटाउन बैंक व्यवस्थापन अग्रसर रहेको भन्दै आन्दोलनको घोषणा गरेको हुन् । उक्त विषयमा कर्मचारी संघले विभिन्न चरणमा वार्ता गर्दा समेत व्यवस्थापन सहमतीमा आउन नसकेपछि कर्मचारी संघले आन्दोलन घोषणा गरेको हो ।

कर्मचारी संघले व्यवस्थापन विरुद्धको आन्दोलनमा पहिलो चरणमा कालोपट्टी बाँधेर विरोध गर्ने छन् । दोस्रो चरणका कार्यक्रमहरु भने असोज ७ गने तय गर्ने कर्मचारी संघले जनाएको छ ।


क्लिकमान्डु