विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



काठमाडौं । नेकपा(एमाले)को विरोधका बीच प्रतिनिधिसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

संशोधनसहित चालु आर्थिक वर्षको बजेट पारित गर्नुपर्नेमा आज विचार गरियोस् भन्ने प्रस्ताव मात्रै पारित भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले केही दिन पहिले चालु आर्थिक वर्षका लागि अध्यादेश मार्फत आएको बजेटको प्रतिस्थापन विधेयक पेश गरेका थिए ।

अध्यादेशमार्फत आएको बजेटका अधिकांश प्रावधानलाई स्वीकार गर्दै अर्थमन्त्रीले प्रतिस्थापन विधेयक ल्याएका थिए ।

प्रक्रियाअनुसार संशोधनसहित विधेयक पारित गर्नुपर्ने भएपनि प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गतेका लागि बस्ने गरी तय गरिएको छ ।

मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक माथिको सैद्धान्तिक छलफल गराएका थिए । अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । शर्माको प्रस्तावमाथि नेमकिपाका सांसद प्रेस सुवालले मात्रै धारणा राखेका थिए ।

सुवालले एमसिसीका सन्दर्भमा आफनो मन्तव्य दिए । अर्थमन्त्रीले सुवालको विचारका लागि धन्यवाद दिए । सभामुखले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरे । उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।


क्लिकमान्डु