२५% व्यवसाय बन्द भइसके, छिटोभन्दा छिटो पर्यटक ल्याउने व्यवस्था चाहियोः पर्यटन व्यवसायी



काठमाडौं । कोरोना विरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल आउन दिने व्यवस्था गर्न सरकार समक्ष सरोकारवालाले माग गरेका छन् ।
आइतबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका सीइओ डा. धनञ्जय रेग्मी, हानकी अध्यक्ष सिर्जना राणा, नाट्टाका अध्यक्ष अच्युत गुरागाइलगायतका उक्त माग गरेका हुन् ।

उनीहरुले पूर्ण रुपमा भ्याक्सिन लगाएका र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीलाई विना क्वारेन्टिन प्रवेश र सहज यात्रा वातावरण निर्माण गर्न सुझाव दिएका छन् ।

साथै भिसा अनअराइभलको व्यवस्था लागू गर्न तथा नेपालको पर्यटनमा कार्यरत अधिकांश सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानीय समूदायले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकाले यस सम्बन्धमा सकारात्मक सन्देश फैलाउन एउटा ट्राभल एडभाइजरी जारी गर्न समेत आग्रह गरेका छन् ।

उनीहरुले महामारीका कारण होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, एअरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुराँ जस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने अर्बौ रुपैयाँ आम्दानी गुमिरहेको बताउँदै १० लाख जनशक्तिको रोजगार संकटमा परेको बताए ।

उनीहरुले ४ खर्ब रुपैयाँभन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा रहेको समेत बताए । साथै करिब २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवासाय तथा उद्यमीहरु पुनर्जीवित नहुने गरी बन्द भएको समेत बताए । उनीहरुले छिट्टै पुनरुत्थानका उपाय नखोजिए यो दर झनै बढ्ने चेतावनी समेत दिए ।


क्लिकमान्डु