स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने सरकारको तयारी



काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।

हाल वैदेशिक रोजगारीको सिलसिलामा जाने श्रमिकहरूले केन्द्रमै आएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता रहेकाले आगामी दिनमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको हो ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्नका लागि गृहकार्य शुरू गरेको बताए ।

हाल देशभरका वैदेशिक रोजगारमा जाने श्रमिकलले केन्द्र अर्थात वैदेशिक रोजगार कार्यालय ताहचलबाट मात्रै स्वीकृति लिनुपर्ने व्यवस्था छ । जसले गर्दा देशभरका श्रमिकहरू वैदेशिक रोजगार जानका लागि घण्टौं लाइन बसेर श्रम स्वीकृति लिनुपर्ने बाध्यता छ ।

हाल भएको व्यवस्थाले गर्दा श्रमिकहरूले विभिन्न समस्या भोग्दै आएका छन् । साथै, सहज ढङ्गबाट श्रम स्वीकृति पाएका छैनन् । त्यसैले आगामी दिनमा सरकारले सो व्यवस्थालाई सहज बनाउनका लागि स्थानीय तहमै श्रम स्वीकृतिको व्यवस्था गर्न गृहकार्य गरिरहेको गौतमको भनाइ छ ।

‘सरकारले वैदेशिक रोजगारलाई कसरी सहज, व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न कार्य गर्दै आएका छन्,’ उनले भने, ‘आगामी दिनमा सरकारले ७ सय ५३ स्थानीय तहमै प्रादन सक्ने व्यवस्थाको लागि काम गरिरहेको छ ।’

उनका अनुसार ताहचलमै आउनुपर्ने बाध्यतालाई हटाउन कै लागि सरकार लागि परेको छ ।

श्रमिकलाई सहज
सरकारले स्थानीय तहमै श्रम स्वीकृति गर्ने व्यवस्था कार्यान्वयन गर्न सकेमा श्रमिकलाई सहज हुने देखिन्छ । अहिले कुनै पनि श्रमिक वैदेशिक रोजगारीमा जानु प¥यो भने काठमाडौं ताहचलमै गएर लामबद्ध लाइन बसेर श्रम स्वीकृति लिनुपर्ने अवस्था छ । जसले गर्दा हरेक दिन हजारौंको संख्यामा वैदेशिक रोजगारीमा जानुपर्ने श्रमिकले विविध समस्या भोग्दै आएका छन् ।

तर, आगामी दिनमा स्थानीय तहबाटै श्रम स्वीकृति लिने व्यवस्था गरेमा श्रमिकहरूलाई राहत मिल्ने सरोकारवालाहरू बताउँछन् । साथै, उक्त व्यवस्थाले श्रमिकको आर्थिक भारसँग भीड घट्ने सचिव गौतमको दाबी छ ।


क्लिकमान्डु