गण्डकीको पर्यटन क्षेत्रबाट ५३% ले गुमाए जागिर, ६% व्यवसायीले गुमाए १ करोड बढी



काठमाडौं । बन्दाबन्दीको समयमा गण्डकी प्रदेशमा सञ्चालित पर्यटन क्षेत्रबाट ५३ प्रतिशत कर्मचारी, कामदारले रोजगारी गुमाएका छन् ।

नेपाल राष्ट्र बैंकले लकडाउनको अवधिमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा परेको असरबारे अध्ययन प्रतिवेदनमा उक्त तथ्यांक उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार कोरोनाका कारण गण्डकी प्रदेशमा लकडाउनको अवधिमा ९७.९ प्रतिशत व्यवासय पूर्णरुपमा बन्द भएका थिए भने बन्दाबन्दीपछि यो संख्या १३.२ प्रतिशतमा सीमित भएको थियो । बन्दाबन्दीको अवधिमा १.८ प्रतिशत व्यवसायहरु आंशिकरुपमा सञ्चालन नभएकोमा बन्दाबन्दी पश्चात यस्तो संख्या ८५.४ प्रतिशत पुगेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसरी रोजगारी गुमाउनेमा अस्थायी÷ज्यालादारी कर्मचारीको प्रतिशत ८९.५ रहेको छ । बन्दाबन्दी अवधिमा सामान्य समयको तुलनामा १९.४ प्रतिशत मात्र कर्मचारी/कामदार कार्यरत रहेकोमा बन्दाबन्दी पश्चात सुधार भई यस्तो संख्या ४६.९९ प्रतिशत पुगेको छ । बन्दाबन्दी अवधिमा १३.६ प्रतिशत र बन्दाबन्दी पश्चात १४.७ प्रतिशत व्यवयसायले कर्मचारीलाई रोजगारीबाट हटाएको पाइएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न पर्यटन व्यवसायहरुमा कर्मचारी÷कामदारको तलब सुविधा औसतमा ५७.३ प्रतिशतले कटौती गरेको पाइएको छ । बन्दाबन्दी पश्चात सामान्य समयको तुलनामा ६३.६ प्रतिशत तलब सुविधा दिएको पाइएकोछ ।

बन्दाबन्दी शुरु भएदेखि सर्वेक्षण अवधिसम्ममा सर्वेक्षणमा संलग्न व्यवसायीहरुमध्ये सर्वाधिक ३३.६ प्रतिशत व्यवसायले १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म गुमाएको पाइएको छ । सबैभन्दा धेरै आम्दानी (१ करोड रुपैयाँभन्दाबढी) गुमाउने व्यवसायीहरु ६.१ प्रतिशत र सबैभन्दा कम (३ लाख रुपैयाँसम्म) गुमाउने व्यवसायीहरु ३.९ प्रतिशत रहेको पाइएको छ ।

सर्वेक्षणमा ५० लाख रुपैयाँसम्म आम्दानी गुमाउने व्यवसायीहरुको संख्या ८१.८ प्रतिशत रहेको पाइएको छ ।

बन्दाबन्दीपछि व्यवसाय सञ्चालनका लागि सर्वाधिक ३६.५ प्रतिशतले आफ्नै स्वपूँजी उपयोग गरेर आवश्यक वित्तीय साधनको जोहो गर्ने बताएका छन् ।

सर्वेक्षणमा २८.३ प्रतिशतले बैंक वित्तीय संस्थाबाट ऋण लिने, १९.७ प्रतिशतले साथीभाइबाट सापटी लिने तथा ७.५ प्रतिशतले सहकारीबाट ऋण लिने सोच बनाएको देखिएको छ ।

सर्वेक्षणमा ५६.४ प्रतिशत पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको र सोमध्ये ७०.९ प्रतिशतले २ प्रतिशत ब्याज छुट सुविधा पाएको देखिएको छ । बाँकी २९.१ प्रतिशत पर्यटन व्यवसायीले सो सुविधा उपभोग गर्न नपाएको बताएका छन् ।

सर्वेक्षणमा ३९.९ प्रतिशत व्यवसायले आ.व. २०७७/७८ को मौद्रिक नीतिमार्फत प्रदान गरिएका सुविधा नपाएको देखिएको छ । सर्वेक्षणमा सर्वाधिक ३०.४ प्रतिशत व्यवसायले पुनरकर्जा सुविधा र २४.७ प्रतिशतले कर्जा भुक्तानी अवधिको म्याद थप सुविधा उपयोग गरेको देखिएको छ । त्यस्तै, ८.२ प्रतिशतले चालु पूँजी कर्जा सुविधा, ६.३ प्रतिशतले ग्रेस अवधि थप गर्ने सुविधा र १.९ प्रतिशतले कर्जाको पुनरतालिकीकरण/पुनरसंरचना सुविधा उपयोग गरेको पाइएको छ ।

बन्दाबन्दी अघि पर्यटन व्यवसायबाट सेवा लिने स्वदेशी पर्यटक ४५.६ प्रतिशत रहेकोमा बन्दाबन्दी पश्चात ९७.८ प्रतिशत रहेको पाइएको छ । सोही अनुरुप बन्दाबन्दी अघि व्यवसायबाट सेवा लिने विदेशी पर्यटक ५४.४ प्रतिशत रहेकोमा बन्दाबन्दी पश्चात २.२ प्रतिशत मात्र रहेको पाइएको छ ।

सर्वेक्षणमा पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसाय सामान्य अवस्थामा फर्कन २ वर्ष लाग्ने अनुमान गरेका छन् । सर्वेक्षणमा संलग्न होम–स्टेहरुले व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा १.५ वर्ष लाग्ने बताएका छन् ।

सर्वेक्षणमा संलग्न व्यवसायहरुमध्ये सर्वाधिक ८३.९ प्रतिशतले अहिलेको व्यवसायलाई निरन्तरता दिने बताएका छन् । बन्दाबन्दी रहीरहे सर्वेक्षणमा ४.६ प्रतिशत पर्यटन व्यवसायीले नयाँ व्यवसाय च सुरु गर्ने, ३.२ प्रतिशतले व्यवसाय बिक्री गर्ने तथा २.९ प्रतिशतले हालको व्यवसाय बन्द गर्ने बताएका छन् ।

बन्दाबन्दी अवधिमा होमस्टे व्यवसाय पूर्णरुपमा बन्द भएको पाइएको छ । बन्दाबन्दी पश्चात ७७.८ प्रतिशत होमस्टे आंशिक रुपमा र ५.६ प्रतिशत पूर्णरुपमा सञ्चालन भएको पाइएको छ भने १६.७ प्रतिशत पूर्णरुपमा बन्द भएको देखिएको छ ।

बन्दाबन्दी पश्चात् आंशिक रुपमा सञ्चालन भएका होमस्टेहरुमा सामान्य समयको तुलनामा औसतमा २८.१ प्रतिशत अकुपेन्सी हुने गरेको पाइएको छ ।

बन्दाबन्दी शुरु भएदेखि सर्वेक्षण अवधिसम्म होमस्टे व्यवसायबाट सर्वाधिक ३५.२ प्रतिशतले रु.२ लाखदेखि ४ लाखसम्म आम्दानी गुमाएको पाइएको छ । सर्वेक्षणमा सबैभन्दा कम ३.७ प्रतिशतले ६ लाख रुपैयाँभन्दा माथि आम्दानी गूमाएको पाइएको छ ।

सर्वेक्षणमा संलग्न होमस्टेमध्ये करिब १३ प्रतिशत होमस्टेले बैंक÷वित्तीय संस्थाहरुबाट ऋण लिएको र उक्त ऋणीहरु मध्ये ५७.१ प्रतिशतले २ प्रतिशत ब्याज छुट सुविधा पाएको बताएका छन् ।

सर्वेक्षणमा संलग्न होमस्टेमध्ये ६३ प्रतिशत होमस्टेले बन्दाबन्दी अवधिमा सरकारबाट कुनै किसिमका आर्थिक सुविधाहरु नपाएको बताएका छन् ।

सर्वेक्षणमा संलग्न ५४ होमस्टे घरपरिवार मध्ये ५३.७ प्रतिशत घरपरिवारले अहिलेको व्यवसायलाई निरन्तरता दिने बताएका छन् । व्यवसायको आकार बढाएर सञ्चालन गर्ने योजना बनाउने होमस्टेहरुको संख्या ४६.३ प्रतिशत रहेको पाइएको छ ।

बन्दाबन्दी अवधिमा अधिकांश पर्यटन व्यवसायीले आम्दानीको मुख्य स्रोत गुमेको, कर्मचारी व्यवस्थापनमा समस्या रहेको, चालु पुँजीका लागि स्रोत अभाव भएको तथा कर्जाको सावाँ ब्याज समयमा बुझाउन कठिनाई भएको बताएका छन् । त्यसैगरी, व्यवसाय निरन्तरताको लागि चल/अचल सम्पत्ति बिक्री गर्नु परेको एवम्पर्यटन व्यवसायमा गरिएको लगानीको सुरक्षा नभएको जस्ता अन्य समस्याहरु रहेको उल्लेख गरेका छन् ।