कोरोना दावी भुक्तानीबारे अर्थमन्त्री शर्माको दोधारे जवाफः दायित्व बढ्दा निर्णय गर्न सकिएन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा दाबी भुक्तानीमा अस्पष्ट जवाफ दिएका छन् । सरकारले आफ्नो जिम्मेवारी अनुसारको कोरोना दाबी भुक्तानी गर्न अन्योलता सिर्जना भएको उनले बताएका छन् ।

आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले कोरोना बीमा दाबी भुक्तानीमा दैनिकजसो दायित्व बढ्दा भुक्तानीमा अन्योलता भएको बताएका हुन् ।

उनले पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिँदै भने, ‘गत वर्षबाट शुरु भएको कोरोना बीमाको दाबी भुक्तानीको दायित्व ठूलो छ । सरकारको भागमा नै ११ अर्ब रुपैयाँ पुगिसकेको भने दैनिक दायित्व थपिने क्रम छ । यस विषयमा मन्त्रालयमा छलफल भइरहेको छ ।’

उनले कोरोना बीमा दाबी भुक्तानीमा सरकारको भागमा हाल परेको ११ अर्ब रुपैयाँ रकमान्तर कहिले हुने वा सरकारले आफ्नो दायित्व वहन गर्ने नगर्ने बारेमा भने प्रष्ट जवाफ नै दिएनन् ।

गत वर्षको बैशाख दोस्रो साताबाट शुरु भएको कोरोना बीमामा हालसम्म १४ अर्ब रुपैयाँ बढीको दावी भुक्तानी परिसकेको छ । यसमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले भने आफ्नो भुक्तानी दायित्वअनुसार कुल साढे ३ अर्ब रुपैयाँ बीमितलाई वितरण गरिसकेका छन् । अब जति पनि आउने कोरोना दाबीको दायित्व सबै सरकारको हो ।


क्लिकमान्डु