इजरायल रोजगारीको परीक्षा भोलि, यी हुन् परीक्षा केन्द्र



काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारीको परीक्षा भोलि (भदौ २८ गते) हुने भएको छ । जीटुजीमार्फत् पहिलो पटक रोजगारीमा लैजाने निर्णय भएको इजरायल रोजगारीको लागि सरकारले भोलि परीक्षा गर्ने भएको हो ।

सरकारले इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परिक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अबलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको जनाएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार आवेदन दिई दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको भौतिक उपस्थितिमा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरूमा १ बजे अंग्रेजी भाषाको लिखित परीक्षा सञ्चालन हुनेछ ।

विभागले सो परीक्षा स्वास्थ्य मापदण्डसहित पालना गरेर परीक्षा सञ्चालन गर्ने भएको जनाएको छ । सो इजरायल रोजगारीको अङ्ग्रजी भाषाको परीक्षा विभिन्न ११ वटा केन्द्र तोकेको छ ।

जसमा भोलि हुने परीक्षा केन्द्रहरूमा कलंकीस्थानमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार विद्यालय साधारण, नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज, नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वर सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, वसुन्धारको साउथ वेस्टर्न कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेश्नल कलेजमा परीक्षा केन्द्र तोकेको छ ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने भएको छ । उक्त रोजगारीको लागि इजरायल सरकारले अङ्ग्रजी भाषालाई प्राथमिकता दिएको छ । त्यसमा अङ्ग्रजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० तोकेको छ भने ४० ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताको लागि २० अङ्क छुट्टाइएको छ ।

विभागले यसअघि नै रोजगारी जाने इच्छुक नेपालीहरूलाई आवेदनको खुलाएको छ । उक्त आवेदन खुलाएकोमा ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका छन् । त्यसमध्ये आवेदन दिनेमा ५ हजार ४ सय ९९ जना पुरुष छन् भने ४ हजार २ सय महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।


क्लिकमान्डु