जागिर गुमाएका श्रमिकले पाए काम, दैनिक १ हजार ज्याला



काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकलाई लक्षित गरी सरसफाइ कार्यक्रम शुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको हो ।

जस अन्तर्गत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि शुरु गरिएको छ । होटल संघ नेपाल (हान) र नेपाल पर्यटन बोर्डले काठमाडौं महानगरपालिकासँगको समन्वयमा विमानस्थल प्रवेशद्वार अगाडि काम शुरु गरेका हुन् ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले कार्यक्रमको सराहना गर्दै प्रभावित श्रमिकहरुलाई दशैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताए ।

उनका यस अन्तर्गत ५ हजार श्रमदिन श्रमिकले काम पाउनेछन् । जसमा एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको पनि शाहले जानकारी दिए । जसमध्ये आइतबार २५ जनाले २५ श्रमदिन हुने गरी कामको शुरुवात गरेका हुन् ।

यस कार्यक्रममा होटल क्षेत्रमा कार्यरत १२ सय श्रमिक तथा अन्य क्षेत्रमा कार्यरत श्रमिकले काम गर्न पाउनेछन् ।


क्लिकमान्डु