बीमा संस्थानले चुक्ता पुँजी २ अर्ब पुर्याउने



काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पूँजी पुर्याउने भएको छ ।

संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१औं साधारणसभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले नियामक बीमा समितिको पछिल्लो निर्देशन अनुरुप २ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था रहेकोले संस्थानले सोही अनुसार चुक्ता पूँजी पुर्याउनका लागि पूँजी योजना तयार गरी अर्थमन्त्रालयमा स्वीकृतिमा लागि पठाइएको जानकारी दिए ।

विगत केही वर्षदेखि महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभावलाई नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाले संस्थानको व्यवसाय विस्तारलगायत अन्य गतिविधिहरुमा नराम्रो प्रभाव परेको उनले बताए ।

कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको उनले बताए । सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लख रहेको अध्यक्ष कँडेलले जानकारी दिए ।

संस्थानको लामो समयदेखि बाँकी रहेको आव २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखा परीक्षण तथा साधारणसभा गरिएको हो ।

संस्थानले आव २०६६/६७ मा तीन अर्ब चार करोड चार लाख १६ अजार ८२३ आम्दानी गरेको छ भने २०६७/६८ मा तीन अर्ब ७८ करोड ७० लाख ७४ हजार ३१७ रुपैयाँ आम्दानी गरको छ । यस्तै २०६८/६९ मा तीन अर्ब ९० करोड ५७ लाख ८४ हजार २२७ आम्दानी गरेको छ ।

संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको भन्दै संस्थानका प्रशासक कवि प्रसाद पाठकले आव २०६६/६७ को तुलनामा पछिल्ला वर्षहरुमा बीमा क्षेत्रमा रहेका विविध चुनौतिहरुको सामना गर्दै संस्थानले व्यवसायमा उल्लेख्य बृद्घि गर्दै गएको बताए ।

बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेसँगै साधारणसभा सम्पन्न गरेको हो ।

संस्थान, बीमा समिति, महालेखा परिक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरीक्षण हुन सकेको थिएन ।

महालेखा परीक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाब मिलाउन तथा लेखापरीक्षण गर्न निर्देशन दिए पनि काम पुरा हुन सकेको थिएन । यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरिक्षण सम्पन्नका लागि बाटो खुलाइएको हो ।

आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को साधारणसभा सम्पन्न भएसँगै अर्को तीन आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२ को पनि लेखापरीक्षकबाट प्रतिवेदन प्राप्त भई गत असार ३१ गते स्विकृतिको लागि बीमा समितिमा पठाइ सकिएको संस्थानले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई आव २०७२/७३, २०७३/७४ र २०७४/७५ को लेखापरीक्षण समयमा सम्पन्न गर्नका लागि पनि साधारणसभाले दुई जना लेखापरीक्षक नियुक्त गरेको छ ।


क्लिकमान्डु