चालु आवमा बीमा कम्पनीले हकप्रद जारी गर्न नपाउने, रिस्कबेस क्यापिटल मोडालिटी बनाईंदै



काठमाडौं । चालु आर्थिक वर्षमा कुनै पनि बीमा कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्न नपाउने भएका छन् । बीमा समितिले चालु आवमा कुनै पनि बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति नदिने निर्णय गरेको हो ।

समितिले बीमा कम्पनीहरुको जोखिममा आधारित पुँजीको मोडालिटी ल्याउन हकप्रद निष्कासन स्थगित गरेको समितिका एक अधिकारीले बताए ।

यद्यपि आइएमई जनरल इन्स्योरेन्सले भने समितिबाट ४० प्रतिशत हकप्रद जारी गर्न स्वीकृत पाइसकेको छ । कम्पनीले करिब ढेड वर्षअघि नै समितिबाट सैद्धान्ति स्वीकृत पाएको हुँदा आइएमईले भने हकप्रद जारी गर्न पाउने ती आधिकारीले बताए । यसबाहेकका कम्पनीहरुलाई भने चालु आवमा हकप्रद जारी गर्न स्वीकृत समितिले नदिने स्रोतको भनाइ छ ।

‘समितिले वर्ल्ड बैंकसँग सहकार्य गरी रिस्कबेस क्यापिटलको मोडालिटी बनाउँदै छ, यो मोडालिटी चालु आवभित्र तयार गर्ने लक्ष्य हो,’ बीमा समिति स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘यो माडालिटी तयार नहुँदासम्म कम्पनीहरुले पुँजी वृद्धिका लागि हकप्रद जारी गर्न पाउँदैनन् ।’
नयाँ कम्पनीको पुँजीमा जोखिम बढ्दै गएपछि रिस्कबेस क्यापिटलको मोडालिटी आवश्यक परेको उनको भनाइ छ ।

‘आइएमई जनरल पुरानो कम्पनी हो, यसले डेढ वर्षअघि नै हकप्रदका लागि स्वीकृत पाइसकेको थियो, अहिले धितोपत्र बोर्डमा दर्ता गराएको मात्र हो,’ अधिकारीले भने, ‘पुराना कम्पनीहरुमा त्यति समस्या देखिँदैन, तर नयाँ मोडालिटी नबन्दासम्म कम्पनीहरुको हकप्रदमा समितिले स्वीकृति दिँदैन ।’

जोखिममा आधारित पुँजीको मोडालिटी बनेपछि कम्पनीहरुलाई हकप्रदबाट वा मर्जर तथा प्राप्तिमार्फत् पुँजी वृद्धिको निर्देशन दिने सोही समयमा तय गरिने उनको भनाइ छ ।

‘अहिले सबै कम्पनीहरुले तोकेको पुँजी पुर्याएकै छन्, हामी रिस्कबेस क्यापिटलमा जाँदा कम्पनीमा जति रिस्क हुन्छ त्यति नै क्यापिटल बनाउनु पर्छ भन्ने सिद्धान्त हुन्छ,’ उनले थपे, ‘कम्पनीहरुले जति बीमा गरेर रिस्क बहन गर्छन्, त्यति नै पुँजी हुनुपर्छ । बहन गरेको जोखिमभन्दा बढी पुँजी आवश्यक छैन ।’

समितिले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै रिस्कबेस क्यापिटलको रणनीति बनाएको थियो । जुन यही आवमै पूरा गर्ने लक्ष्यसहित वर्ल्ड बैंकको सहयोगमा समितिले काम गरिरहेको छ । तर, कोभिडका काराणले नियमित छलफल तथा काम गर्न नसक्दा आगामी आवमा मात्र पूरा हुनसक्ने उनको अनुमान छ ।


क्लिकमान्डु