जाँचबुझ समितिले माग्यो सेबोन अध्यक्ष ढुंगाना र अग्रवालको बैंक स्टेटमेन्ट



काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिक्री प्रकरणमा छानविन गर्न गठिन जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र सिताराम अग्रवालकी छोरी शिखा अग्रवालको बैंक स्टेटमेन्ट माग गरेको छ ।

बोर्ड अध्यक्ष ढुंगानाले सेयर कारोबारबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ समिति राष्ट्र बैंकसँग ढुंगाना र शिखा अग्रवालको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाता विवरण माग गरेको हो ।

बोर्ड अध्यक्ष ढुंगानाले कानुनविपरीत छोरीको नाममा सेयर खरिद गरेको तथ्य बाहिर आएपछि सो विषयमा छानबिन गर्न समिति गठन भएको हो । समितिले राष्ट्र बैंकका नाममा पत्र लेख्दै सर्वोत्तम सिमेन्टका सेयरधनी सिताराम अग्रवालको छोरी शिखा अग्रवालको र स्वयम् ढुंगानाको खाताको मौज्दात विवरण २ दिनभित्र पठाउन सोमबार आग्रह गरेको हो ।

जाँचबुझ समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा, प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।

बुक बिल्डिङ विधिबाट सेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको खरिद गरेको पाइएको छ । बोर्डका अध्यक्षले आफू पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म धितोपत्र सम्बन्धी कुनै पनि कारोबार गर्न नपाउने नियम छ ।

तर उनी पदमा रहँदा नै छोरी रेबिकाको नाममा कानुन विपरीत १० हजार कित्ता सेयर ओटीसीमार्फत् खरिद गरेका थिए । यस विषयमा जाँचबुझ समितिले अध्ययन गरिरहेको छ ।


क्लिकमान्डु