आन र मुक्तिनाथ विकास बैंक कर्जा प्रवाह सम्बन्धी सम्झौता



काठमाडाैं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । जसअनुसार आनका सदस्य एजेन्सीलाई बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ ।

आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत प्रध्युमन पोखरेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई बर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढसयभन्दा बढी विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए ।

उनले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकहरूलाई सेवा गर्दै आएकाले लोकप्रिय हुन सकेको बताउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिवद्ध रहेको बताए ।

आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताए । उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताए ।


क्लिकमान्डु