बीमा कम्पनीका १० हजार कर्मचारीलाई १ अर्ब बोनस, कुन कम्पनीका कर्मचारीलाई कति ?



काठमाडौं । निजी क्षेत्रमा रोजगारीको आकर्षण क्षेत्र बैंक र बीमा कम्पनीहरु हुन् । यी क्षेत्रमा रोजगारीमा युवा आकर्षित हुनुको मुख्य कारण भनेको कर्मचारीले पाउने सेवा सुविधा नै हो ।

नेपालमा सरकारी क्षेत्रमा बाहेक बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु नै जागिरका लागि आकर्षणका केन्द्र हुन् ।

हाल १३२ वटा बैंक तथा वित्तीय संस्थामा २० हजार ८७२ जना कर्मचारी कार्यरत छन् । यता, ३९ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमा १० हजार ७२१ जना कर्मचारी कार्यरत छन् ।

बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई पनि आफूले पाउने वार्षिक बोनसमा धेरै चासो हुन्छ । बोनस ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले कमचारीलाई बोनस वितरण गर्छन् ।

गत आवमा १९ जीवन बीमा कम्पनीले ३ अर्ब ८० करोड ९४ लाख रुपैयाँ र २० वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब ६६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

प्राप्त तथ्यांकमा ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको तथ्यांक भने समावेश गरिएको छैन ।

गत आवको नाफाबाट निर्जीवन बीमा कम्पनीहरुले १४ प्रतिशत र जीवन बीमा कम्पनीहरुले ११.४३ प्रतिशत कर्मचारीलाई बोनस वितरण गर्ने भएका हुन् ।

बीमा कम्पनीहरुले प्राप्त नाफाबाट १ अर्ब ८ करोड ६२ लाख रुपैयाँ बढी कर्मचारीलाई बोनस वापत छुट्याएका छन् । जसमा १९ वटा जीवन बीमा कम्पनीहरुले ४३ करोड ५४ लाख ९२ हजार रुपैयाँ र २० वटा निर्जीवन बीमा कम्पनीले ६५ करोड ७ लाख २१ हजार रुपैयाँ कर्मचारीलाई बोनस छुट्याएका छन् ।

हालसम्म २० वटा निर्जीवन बीमा कम्पनीहरु ४ हजार ९३० जना कर्मचारी कार्यरत छन् । निर्जीवन बीमा कम्पनीहरुले छुट्याएको गत वर्षको बोनसबाट यी कर्मचारीले औषतमा १ लाख ३१ हजार रुपैयाँ पाउँछन् ।

साथै, १९ वटा जीवन बीमा कम्पनी कम्पनीहरुमा ५ हजार ७९१ जना कर्मचारी कार्यरत छन् । यी कर्मचारीले गत वर्षको नाफाबाट औषतमा एकजनाले १ लाख ४३ हजार ७५ हजार रुपैयाँ बोनस पाउने देखिन्छ ।

बीमा कम्पनीमा बोनस व्यवस्था

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई विभिन्न चरणमा किस्तामा वितरण गर्छन् । तर, बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएपछि प्राप्त आम्दानीको आधारमा वार्षिक साधारणसभामा बोनस वितरण गर्छन् ।

बीमा कम्पनीहरुले त्रैमासिक रुपमा खुद नाफाबाट बोनस ऐन अनुसार कर्मचारीलाई बोनस छुट्याउने तर सोको वितरण एकैपटक वार्षिक साधारणसभामा गर्ने महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेश कुमार भट्टराईले बताए ।

बीमा कम्पनीहरुको बीमांकीय मूल्यांकन गर्न ढिलाइ हुँदा अधिकांश कम्पनीहरुले वार्षिक साधारणसभा नै २ आवअघिसम्मको पनि गर्न सकेका हुँदैनन् । जसले गर्दा कर्मचारीहरुले नाफाबाट ढिलो बोनस उपयोग गर्न पाउने उनले बताए ।

‘बैंकहरुमा कर्मचारीलाई अनुमानित नाफा हिसाब गरी अग्रीम बोनस पनि बाँड्ने चलन छ भने दशैंमा समेत कर्मचारीलाई बोनस वितरण हुन्छ,’ सीइओ भट्टराईले क्लिकमाण्डूसँग भने, ‘बीमा कम्पनीहरुले भने साधारण सभापछि मात्र कर्मचारीलाई बोनस खातामा पठाउने गर्छन् ।’

बीमा कम्निीहरुको बीमांकीय मूल्यांकनमा समय लाग्न हुँदा त्यसको असर कर्मचारीले पाउने बोनसमा पनि पर्छ गएको उनले बताए ।

‘नेपाल बीमांकीय मूल्यांकन हुँदैन्, यसका लागि अझै पनि भारत नै निर्भर छौँ, त्यसपछि मात्र बिस्तृत लेखापरीक्षण गराएर साधारणसभा गर्न समितिले स्वीकृत गर्छ ।’

कतिपय कम्पनीको अघिल्लो आवको नै साधारणसभा बाँकी छ । जसले गर्दा अघिल्लो आवको नाफाबाट पाउने बोनस समेत कर्मचारीले नपाएको उनले जानकारी दिए ।

‘वित्तीय विवरणमा नाफाबाट कर्मचारीलाई दिइने बोनस उल्लेख भएपनि कम्पनीहरुले साधारण सभापछि नै वितरण गर्न पाउँछन्, त्यसैले छुट्याइएको बोनस वितरण गर्नको लागि ढिलाइ हुन्छ ।

’कम्पनीमा कार्यरत कर्मचारीलाई जागिर छाडेर जाँदा समेत पाउने बोनस खातामा पठाइने उनको भनाइ छ ।

बीमा कम्पनीका १० हजार कर्मचारीले १ अर्ब ८ करोड बढी बोनस पाउँदै
बीमा समितिद्वारा उपलब्ध तथ्यांक जीवन बीमा कम्पनीहरुमा ५ हजार ७९१ जना र निर्जीवन बीमा कम्पनीहरुमा ४ हजार ९३० जना गरी समग्र बीमा कम्पनीहरुमा १० हजार ७२१ जना कर्मचारी कार्यरत छन् । बोनस ऐनअनुसार कुनै पनि रोजगारदाता प्रतिष्ठानले वार्षिक करपछिको खुद नाफाको न्यूनतम १० प्रतिशत कर्मचारीलाई बोनस वितरण गर्नुपर्छ ।

बोनस ऐन अनुसार कर्मचारीहरुलाई जीवन बीमा कम्पनीहरुले ४३ करोड ५४ लाख ९२ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीका कर्मचरीले ६५ करोड ७ लाख २१ हजार रुपैयाँ बोनस वितरणका लागि छुट्याइसकेका छन् ।

यो बोनस रकम वार्षिक वित्तीय विवरणको पुनः लेखापरीक्षण गर्दा हेरफेर हुनसक्छ । छुट्याइएको बोनस कम्पनीहरुले वर्ष चालु आवको वार्षिक साधारणसभा गरेपछि मात्र वितरण हुन्छ ।

कुन निर्जीवन बीमा कम्पनीका कर्मचारीलाई कति बोनस ?
सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी कर्मचारीलाई बोनस नेको इन्स्योरेन्सले र सबैभन्दा थोरै युनाइटेड इन्स्योरेन्सले छुट्याएको छ । नेको इन्स्योरेन्सले गत आवको नाफाबाट कर्मचारीलाई ७ करोड ७२ लाख ३४ हजार रुपैयाँ बोनस छुट्याउँदा युनाइटेड इन्स्योरेन्सले १ करोड १९ लाख ४१ हजार रुपैयाँमात्र छुट्याएको हो ।

तर, प्रति कर्मचारीले पाउने औषत बोनसभने सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको र सबैभन्दा थोरै युनाइटेड इन्स्योरेन्सको नै रहेको छ । नेपाल इन्स्योरेन्सले गत आवको नाफाबाट कर्मचारीलाई ५ करोड ५१ लाख २१ हजार रुपैयाँ बोनस छुट्याएको छ । कम्पनीमा हाल २ सय ६४ जना कर्मचारी कार्यरत छन् ।

साथै, युनाइटेड इस्योरेन्समा कार्यरत २ सय ५३ जना कर्मचारीले गत आवको नाफाबाट छुट्याइएको १ करोड १९ लाख ४१ हजार बोनस पाउनेछन् ।

यसबाहेक गत आवको नाफाबाट निर्जीवन बीमा कम्पनीमा ६ वटाले ५ करोड रुपैयाँभन्दा बढी र ११ वटा कम्पनीले १ करोड रुपैयाँभन्दा बढी कर्मचारीका लागि बोनश छुट्याएका हुन् ।

छुट्याइएको बोनसबाट १३ वटा कम्पनीले औषतमा प्रति कर्मचारीले १ लाख रुपैयाँभन्दा बढी २ लाख ९ हजार रुपैयाँसम्म र ४ वटा कम्पनीका कर्मचारीले भने ४७ हजार रुपैयाँदेखि ८६ हजार रुपैयाँसम्म बोनस गत आवको नाफाबाट पाउँछन् ।

कुन जीवन बीमा कम्पनीका कर्मचारीलाई कति बोनस
गत आवको नाफाबाट १९ वटा बीमा कम्पनीमा सबैभन्दा बढी बोनस नेपाल लाइफले र सबैभन्दा थोरै राष्ट्रिय बीमा संस्थाने छुट्याएका छन् ।
नेशनल लाइफले ६ करोड ८५ लाख रुपैयाँ बढी कर्मचारीलाई बोनस छुट्याउँदा राष्ट्रिय बीमा संस्थानले ४५ लाख रुपैयाँ छुट्याएको हो ।

यसबाहेक ९ वटा कम्पनीले २ करोड रुपैयाँदेखि करिब ७ करोड रुपैयाँसम्म, ८ वटा कम्पनीले १ करोड रुपैयाँदेखि २ करोड रुपैयाँसम्म र २ वटा कम्पनीको १ करोड रुपैयाँभन्दा कम कर्मचारी बोनस छुट्याइएको छ ।

तर, सो अवधिमा प्रतिकर्मचारीले पाउने औषत बोनस भने सबैभन्दा बढी मेट लाइफ र सबैभन्दा कम रिलायन्स लाइफ इन्स्योरेन्सको छ । मेट लाइफमा हाल १५८ जना कर्मचारी कार्यरत छन् । जसअनुसार गत आवमा कम्पनीले वितरण गर्ने बोनस औषतमा प्रति कर्मचारीले २ लाख ७ हजार ५९४ रुपैयाँ पाउन सक्ने देखिन्छ ।

यता, रिलायन्स लाइफ इन्स्योरेन्समा २४४ जना कर्मचारी कार्यरत छन् । गत आर्थिक वर्षमा कम्पनीले छुट्याएको बोनसबाट औषतमा प्रतिकर्मचारीले ३१ हजार ९४२ रुपैयाँ पाउन सक्ने देखिन्छ ।

यस बाहेकका कम्पनीले छुट्याएको बोनसबाट औषतमा ५ वटा कम्पनीका प्रतिकर्मचारीले १ लाख रुपैयाँभन्दा धेरै, ८ वटा कम्पनीका प्रतिकर्मचारीले ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म र ६ वटा कम्पनीका प्रतिकर्मचारीले ५० लाख रुपैयाँभन्दा कम बोनस पाउने देखिन्छ ।


क्लिकमान्डु