एक महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन साढे १६ अर्ब, नेपाल लाइफ पहिलो




काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुले साढे १६ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले साउन महिनामै प्रथम र नवीकरण गरी १६ अर्ब ५२ करोड रुपैया बीमा शुल्क संकलन गरेका हुन् ।

जसमा प्रथम बीमाशुल्क वापत २ अर्ब ७४ करोड रुपैयाँ र नवीकरण बीमाशुल्क वापत १३ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेका हुन् ।
चालु आवको साउनमा जीवन बीमा कम्पनीहरुले १२ करोडदेखि ४ अर्ब ७६ करोड रुपैयाँसम्म बीमा शुल्क संकलन गरेका छन् ।

जसमा सबैभन्दा बढी नेपाल लाइफले र सबैभन्दा थोरै सानिमा लाइफले बीमा शुल्क संकलन गरेका हुन् ।

यसबाहेकका कम्पनीमा ४ वटाले १ अर्ब रुपैयाँमाथि, ११ वटा कम्पनीले ३० करोडदेखि ७६ करोड रुपैयाँसम्म र ४ वटा कम्पनीले ३० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा प्रथम बीमा शुल्कतर्फ सबैभन्दा बढी नेपाल लाइफको र सबैभन्दा थोरै समेत सानिमा लाइफको नै रहेको छ ।
साथै, नवीकरण बीमाशुल्क संकलनमा पनि नेपाल लाइफ अगाडि र महालक्ष्मी लाइफ पछि परेको छ ।

चालु आवको पहिलो महिनामा नेपाल लाइफले ५८ करोड रुपैयाँ प्रथम र ४ अर्ब १८ करोड रुपैयाँ नवीकरण बीमा शुलक संकलन गरेको छ । साथै, राष्ट्रिय बीमा संस्थानले प्रथम बीमाशुल्क ५ करोड रुपैयाँ र नवीकरण बीमाशुल्क ३ अर्ब ६८ करोड संकलन गरेको छ ।

सो अवधिमा नेशनल लाइफले प्रथम बीमाशुल्क २५ करोड रुपैयाँ र नवीकरण बीमाशुल्क १ अर्ब ८ करोड संकलन गरेको छ ।
लाइफ इन्स्योरेन्स कार्पोशन नेपालले ८ करोड प्रथम र ९२ करोड नवीकरण बीमा शुल्क संकलन गरेको छ ।

सो अवधिमा प्रथम र नवीकरण गरी यूनियन लाइफले ७६ करोड, एशियन लाइफले ६३ करोड, सूर्या लाइफले ५२ करोड, मेट लाइफले ४९ करोड रुपैयाँ र सिटिजन लाइफले ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरका हुन् ।

त्यसैगरी, समीक्षा अवधिमा प्राइम लाइफले ४० करोड, गुराँस लाइफले ४० करोड, आइएमई लाइफले ३४ करोड, प्रभु लाइफले ३४ करोड, ज्योति लाइफले ३३ करोड, रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ, सन नेपाल लाइफले २९ करोड रुपैयाँ र रिलायन्स लाइफले २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सानिमा लाइफले १४ करोड र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ चालु आवको साउन महिनामा कुल बीमा शुल्क संकलन गरेका हुन् ।

कुन जीवन बीमा कम्पनीको बीमा शुल्क कति ?


क्लिकमान्डु