बीमाको पहुँच २% ले बढेर २५% जनसंख्यामा पुग्यो



काठमाडौं । नेपालमा बीमाको पहुँच साढे २ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा २२.३१ प्रतिशत रहेको बीमाको पहुँच चालु आवको सोही अवधिमा २४.९९ प्रतिशत पुगेको बीमा समितिले उल्लेख गरेको छ ।

तथ्यांक विभागको अनुसार हाल नेपालको जनसंख्या ३ करोड ४ लाख ४४ हजार ३३९ जना रहेको समितिले उल्लेख गरेको छ । जसमा ७६ लाख ९ हजार १५२ जना बीमाको दायरामा रहेको समितिको तथ्यांकले देखाएको छ । यो संख्या बैदेशिक रोजगारीमा जानेले गराएको बाहेको बीमाको तथ्यांक हो ।

समितिको तथ्यांकअनुसार जीवन कम्पनीहरुले कुल ८५ लाख ८७ हजार ४४ वटा बीमा लेख जारी गरेका छन् । साथै, सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख ४१ हजार ८ सय ३७ बीमा लेख जारी गरेका छन् ।

अघिल्लो आवको पहिलो महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमालेख संख्या १३.४३ प्रतिशतले र निर्जीवन बीमालेको संख्या ०.१७ प्रतिशतले बढेको छ ।

यता, गत साउन मसान्तको वैदेशिक रोजगार बीमालेख संख्या अघिल्लो श्रावण मसान्तको तुलनामा ३२.९० प्रतिशतले घटेर ५ लाख ७७ हजार ४ सय १० पुगेको छ । अघिल्लो श्रावण मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेख संख्या ८ लाख ६० हजार ५ सय १९ रहेको थियो ।

गत साउन मसान्तसम्ममा बीमा क्षेत्रको कुल जिवन बीमालेख संख्या अघिल्लो मसान्तको तुलनामा ८.४० प्रतिशतले बढेर ८५ लाख ८७ हजार ४४ पुगेको छ । अघिल्लो साउन मसान्तमा ७९ लाख २१ हजार ७ सय ५७ रहेको थियो ।

चालु आवको पहिालो महिनामा जीवन बीमा कम्पनीहरुले १३ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २७.३८ प्रतिशतले बढी हो । गत आवको सोहीे अवधिमा जीवन कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको थियो ।

यस्तै, चालु आवको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १०.७४ प्रतिशत बढी हो ।

चालु आवको साउन मसान्तसम्म बीमा कम्पनीहरुको ३ हजार ६१ वटा कार्यालयमा १० हजार ८६५ जना कर्मचारी कार्यरत छन् ।


क्लिकमान्डु