जगदम्बा स्टीलमा तोडफोड गर्नेमाथि कारवाही गर्न सरकारसँग महासंघको माग

245
Shares

काठमाडौं । वीरगंज पथलैया औद्योगिक कोरिडर सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा भदौ ११ गते तोडफोड भएको विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ध्यानाकर्षण भएको र दोषीलाई कारबाही गर्न माग गरेको छ ।

‘महासंघ उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ,’ मंगलबार महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जबरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा हो ।’

भदौ ११ गते बिहान साढे १० बजे उद्योगको अमोनिया ग्यास टयांकबाट ग्यास लिकभएपछि स्थानीयहरु उद्योगभित्र प्रवेश गरी तोडफोड गरेका थिए । तोडफोडमा संलग्नलाई पहिचान गरी कारबाही गर्न पनि महासंघले सरकारसँग माग गरेको हो ।

‘यसले एकातिर उद्योग र स्थानीय जनता बीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोबल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जानेतर्फ महासंघको गम्भीर चिन्ता छ,’ विज्ञप्तिमा भनिएको छ ।