प्रिमियर स्टिलको आम्दानी ६ अर्ब बढी, ३ अर्ब ऋणका लागि गरायो रेटिङ



काठमाडौं । प्रिमियर स्टिलको आम्दानी करिब दोब्बरले वृद्धि भएको छ । सन् २०२० मा ३ अर्ब ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२१ मा ६ अर्ब १८ करोड ७० लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ । कम्पनीले सन् २०१९ मा यस्तो आम्दानी २ अर्ब १५ करोड ४० लाख रुपैयाँ थियो ।

सन् २०१६ मा स्थापना भएको कम्पनीको उद्योग सुनसरीको दुहवीमा छ । उद्योगबाट २ लाख ४० हजार मेट्रिक टन टीएमटी बार र तार उत्पादन हुन्छ । कम्पनीले ५०० र ५००डी टीएमटी छड उत्पादन गर्दै आएको छ ।

कम्पनीले हालै ३ अर्ब ५५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले लामो अवधिका लागि ६८ करोड ८९ लाख ६० हजार रुपैयाँ र छोटो अवधिका लागि २ अर्ब ८६ करोड ४० लाख रुपैयाँको ऋणका लागि रेटिङ गराएको हो ।

कम्पनीले सन् २०२१ मा उत्पादन क्षमता ३२ प्रतिशतले बढाउने योजना बनाएको छ ।

कम्पनीका लगानीकर्तामा सारडा ग्रुप र राठी ग्रुप छन् । यी ग्रुपले स्टिलसँगै बैंक तथा बीमा कम्पनीका साथै अन्य विभिन्न क्षेत्रमा पनि लगानी गरेका छन् ।


क्लिकमान्डु