चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको माग उच्च



काठमाडौं । नेपाली महिलाहरूको महान चाडपर्व तीज नजिकिँदै गर्दा बजारमा सुन चाँदीको माग बढ्न थालेको छ । गत वर्ष कोरोना महामारीले गर्दा खासै उत्साह नदेखिएको तीजमा यो वर्ष भने कोरोनाकै समय भएपनि चहलपहल शुरू भएको छ ।

सामान्य अवस्थामा तीज आउनुभन्दा एक महिना अघिनै बजारमा रौनक छाउँथ्यो । हरेक पार्टीप्यालेस तथा सुनचाँदी पसलमा भीड बढ्थ्यो । अहिले कोरोनाका कारण भेला तथा सम्मेलनमा रोक लगाएकाले तीजको रौनक खासै देखिँदैन । तर भेला सम्मेलन नभए पनि सुनचाँदीको माग भने उच्च रहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा सुनचाँदीको माग बढेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले बताए । उनका अनुसार गत वर्षको तुलनामा वातावरण केही सहज भएकाले बजारमा माग बढेको हो ।

सरकारले हाल दैनिक रुपमा २० केजी वितरण गर्दै आएका छन् । तर, अहिले उक्त २० केजी सुनले बजार नधान्ने उनले जिकिर गरे । ‘तीजकै समयमा दैनिक ३५ केजीसम्म बिक्री हुने गर्दछ,’ उनले क्लिकमान्डूसँग भने, ‘सरकारले चाडपर्वको समयमा पनि २० केजी मात्रै वितरण गर्ने गर्दछ । जसले गर्दा बजारमा सुनको अभाव देखिन्छ ।’

सरकारले हाल २० केजी सुन वितरण गरे पनि व्यवसाय हुने समयमा दैनिक ३० देखि ४० केजी पु¥याउनुपर्ने व्यवसायीहरूको भनाई छ । उनीहरूका अनुसार चाडपर्वको समयमा व्यवसायीले तोकेको कोटा वितरण गरेमा बजार सन्तुलन गर्न सहज हुनेछ ।

आयात उच्च

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै उच्च रुपमा आयात निर्यात भएको छ । कोरोना महामारीले आर्थिक मन्दी खेपिरहेको अवस्थामा आयातमै भर पर्नुपर्ने भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै नेपालमा विभिन्न चाडपर्व नजिकिँदै गर्दा सुन चाँदीको आयात उच्च भएको छ । चालु आवको साउन महिनामा मात्रै ३ अर्ब १६ करोड ४७ लाख मूल्यय बराबरको ४ सय ५८ केजी सुन आयात गरेको छ । सो आयातित सुनबाट नेपाल सरकारले ३८ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी, एक महिनाको अवधिमा चाँदी मात्रै २ अर्ब ६२ करोड १७ लाख रुपैयाँ बराबरको २६ हजार २ सय केजी चाँदी आयात गरेको छ । उक्त आयातित चाँदीबाट नेपालले २२ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत वर्ष कोरोना महामारीले गर्दा पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न पाएका थिएनन् । सो वर्ष सुनचाँदी व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै आन्दोलन गरेका थिए । साथै, सरकारले दिएको सुनको कोटा ३० केजी पु¥याउनु पर्ने व्यवसायीहरूको धारणा थियो । सो वर्ष पूर्ण रुपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा र व्यवसाय सञ्चालन गर्न नपाउँदा आयात निकै कम भएको देखिन्छ । भन्सार विभागको तथ्याङ्ले गत वर्ष साउन महिनामा ७ करोड ६१ लाख ४६ हजार रुपैयाँ बराबरको १ हजार केजी मात्रै चाँँदी आयात भएको थियो । तर, सुन भने एक केजी आयात नभएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।


क्लिकमान्डु