उद्योग परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन



काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो ।

समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् । समितिमा गौरव गोयल सदस्य छन् ।

समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्येस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । यसैगरी समितिले नेपामला विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ ।

समितिको बैठकमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल लगानीको लागि उचित गन्तव्य रहेको भन्दै लैगानीकर्तामैत्री नीतिगत व्यवस्था हुनुपर्ने बताए । लगानीका लागि अफ्ठेरा कानुनी व्यवस्था परिमार्जनका लागि समितिले आवश्यक पहल गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

समितिको बैठकमा उपाध्यक्ष ढकालले विदेशी लगानी भित्र्याउन आवश्यक सहजीकरणका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रिया अघि बढाउने बताए ।

‘हामीसँग संभावना भएर पनि धेरै उपलब्धि भएका छैनन,’ उनले भने, ‘कतिपय उद्योगमा लगानी घोषणा भएर पनि कार्यान्वयन हुन सकेको छैन, त्यसमा के समस्या छन् त्यसलाई समाधन गर्न पनि समितिले काम गर्नेछ ।’


क्लिकमान्डु