निर्यात हुने बिजुलीको मात्रा बढ्यो, दैनिक ६ हजार ५५६ मेगावाट घण्टा भारत जाँदै



काठमाडौं । नियमित वर्षा भई नदीमा जलस्तर बढेपछि त्यसको सबैभन्दा बढी फाइदा नेपाल विद्युत् प्राधिकरणलाई भएको छ ।

प्राधिकरणले हाल नियमितरुपमा भारततर्फ बिजुली निर्यात गरिरहेको छ । माथिल्लो तामाकोशी पूर्णक्षमतामा सञ्चालनमा आएको छ । निजी क्षेत्रका धेरैजसो आयोजना पूर्णक्षमतामा चलेका छन् ।

विवरणअनुसार प्राधिकरणको प्रणालीमा बढी भएको बिजुली यतिबेला नियमित रुपमा भारत निर्यात भइरहेको छ । माथिल्लो तामाकोशीको ४५६ मेगावाट बराबरको बिजुली नै उत्पादन भइरहेकाले सोही बिजुली नै भारत निर्यात भइरहेको छ ।

प्राधिकरणको प्रणालीमा उपलब्ध विवरण अनुसार हाल भारततर्फ कूल ६ हजार ५५६ मेगावाट घण्टा बिजुली निर्यात भइरहेको छ । भारतबाट मात्रै ७० मेगावाट घण्टा मात्रै बिजुली आयात भएको छ । बाढी पहिरोका कारण देशका केही स्थानमा बिजुली प्रवाहमा अवरोध पैदा भएको छ ।

प्राधिकरणको प्रणालीमा पछिल्लो पिक डिमाण्ड भने एक हजार ४८६ मेगावाट रहेको छ । यस्तै मेगावाट घण्टामा कूल माग ३१ हजार ५१४ मेगावाट घण्टा रहेको छ ।

प्रणालीमा प्राधिकरणको ८ हजार ८१८ मेगावाट घण्टा, सहायक कम्पनीको १२ हजार २७ मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार ५९९ मेगावाट घण्टा बिजुली माग छ । नेपालले रक्सोल परवानीपुर प्रसारण लाइनबाट बिजुली निर्यात गरिरहेको जनाएको छ ।

उता निजी क्षेत्रको लगानी रहेको माथिल्लो मस्र्याङदी ५० मेगावाट र प्राधिकरणकै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए भने पूर्णतया बन्द अवस्थामा रहेको छ ।


क्लिकमान्डु