ल्यापटप र मोबाइलको आयात उच्च



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा ल्यापटप र मोबाइल फोनको आयात पनि उच्च रहेको छ ।

नेपालले चालु आवको साउन महिनामै करिब साढे १ अर्ब मूल्य बराबरको ल्यापटप आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै १ अर्ब ४७ करोड ५७ लाख मूल्य बराबरका २८ हजार ३ सय ल्याप्टप आयात गरेको छ । जुन हालसम्मकै एक महिनामा भएको उच्च आयात हो ।

गत वर्षको साउन मसान्तसम्ममा नेपालले ४० करोड ४६ लाख मूल्य बराबरको ७ हजार ६ सय ८६ सेट ल्यापटप आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा २६३.४९ प्रतिशतले बढी आयात भएको देखिन्छ । त्यस्तै गत वर्षको साउन मसान्तदेखि असार मसान्तसम्ममा ७ अर्ब ७७ करोड २३ लाख रुपैयाँ बराबरको १ लाख ३९ हजार ४ सय ४७ सेट ल्याप्टप आयात गरेको थियो । उक्त ल्याप्टप अधिकांश चीनबाट आयात गरेको छ ।

मोबाइलको आयात पनि उच्च
चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारलाई आवश्यक वस्तु तथा सेवाको आयात उच्च रुपमा भएको देखिन्छ । चाडपर्व लक्षित विभिन्न कम्पनीहरूले छुटसहितको व्यवस्था गर्ने गर्दछन् । त्यसैले यो वर्षको दशैंतिहार नजिकिँदै गर्दा बजारमा मोबाइलको आयात उच्च भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले चालु आवको साउन मसान्तसम्ममा ४ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ बराबरको ६ लाख ६७ हजार ५ सय बढी मोबइलफोन आयात भएको छ । उक्त आयातित मोबाइल फोनबाट सरकारले ७६ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै गत वर्षको सोही अवधिमा नेपालले ४ अर्ब २६ करोड ४९ लाख रपैयाँ बराबरको ४ लाख ७० हजार ६ सय बढी मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङले देखाएको छ । साथै सरकारले सो आयातित वस्तुबाट ६७ करोड ५० लाख रुपैयाँ बराबर राजश्व संकलन गरेको थियो । नेपाल सबैभन्दा बढी भारत र चीनबाट मोबाइल आयात भएको छ ।


क्लिकमान्डु