सीडी रेसियो कार्यान्वयन चरणवद्ध गर्नुपर्छ, एकैपटक गाह्रो हुन्छः दाहाल



काठमाडौं । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कर्जा–निक्षेप रेसियोलाई चरणबद्ध रुपमा लागू गर्दै जानुपर्ने सुझाव दिएका छन् ।

शुक्रबार नाफिजले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले चरणबद्ध तरिकाले सीडी रेसियो लागू गर्नुपर्ने बताए ।

राष्ट्र बैंले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् हाल व्यवस्थामा रहेको स्रोत–कर्जा–निक्षेप अनुपात (सीसीडी) रेसियो खारेज गरी सीडी रेसियो लागू गरेको छ । जसमा बैंक तथा वित्त संस्थाले २०७९ असार मसान्तसम्म ९० प्रतिशत कायम गर्न निर्देशन दिइसकेको छ ।

सो निर्देशनले कतिपय बैंकहरुलाई कर्जा प्रवाह मै समस्या पर्ने भएकाले चरणवद्ध रुपमा सीडी रेसियोको सीमा कार्यान्वयन गराउन दाहालले राष्ट्र बैंक समक्ष सुझाव दिए ।

‘सीडी रेसियो असारसम्ममा ९० प्रतिशत कायम गर्न भनिएको छ, केही बैंकहरूको यस्तो रेसियो अहिले नै केही माथि छ भने केही सहजमै छन्,’ उनले भने, ‘एकैपटक ९० प्रतिशतमा ल्याउनुभन्दा ती बैंकहरुलाई समस्या हुनसक्छ त्यसैले, पुससम्म ९२ प्रतिशत ल्याउने, चैतमा ९१ प्रतिशत र असारमा ९० प्रतिशत ल्याउने गरी कार्यान्वयन गरेमा सबैलाई फाइदा पुग्छ ।’

बैंकिङ क्षेत्रलाई सहज हुने गरी राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत् नीति निर्देशन कार्यान्यवन गराउन उनले सुझाएका हुन् ।


क्लिकमान्डु