नेपाली धागो निर्यातमा भारतले एन्टी डम्पिङ नलगाउने, युरोप निर्यातको बाटो खुल्यो



काठमाडौं । नेपाली धागो (पोलिस्टर यार्न)को निर्यातमा भारत सरकारले एन्टी डम्पिङ कानून नलगाउने भएको छ । भारत सरकारले २०२० मे देखि नेपाली धागोमाथि एन्टी डम्पिङ लगाउँदै आएकोमा त्यसलाई फुकुवा गर्ने निर्णय गरेको हो ।

हाल नेपालमा रहेका धागो उद्योगहरुले आफ्नो उत्पादनको ८० प्रतिशत धागो निर्यात गरिरहेका छन् । नेपाली उद्योगबाट उत्पादन भएको धागोको प्रमुख बजार छिमेकी मुलुक भारत र युरोपियन राष्ट्र टर्की रहेको छ ।
भारतीय वाणिज्य मन्त्रालयले २१ मे २०२० मा त्यहाँको राजपत्रमार्फत् सूचना जारी गर्दै नेपालबाट भारत निर्यात हुने धागो मा एन्डि डम्पिङ लगाएको थियो । तर १९ अगस्ट २०२१ मा अर्को सूचना प्रकाशित गर्दै भारत सरकारले एन्टी डम्पिङ हटाएको हो ।

भारतको उक्त निर्णयपछि नेपाल धागो उत्पादक संघले नेपाल सरकारमार्फत् भारतलाई उक्त निर्णय फिर्ता लिनका लागि पहल गर्न आग्रह गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालिन सचिवद्वय चन्द्र कुमार घिमिरे र बैकुण्ठ अर्यालको निर्देशनमा समिति नै बनाएर भारतसँग यो विषय द्विपक्षिय कुराकानीसमेत भएको थियो ।

यही सन्दर्भमा विगतदेखि नै युरोपियन मुलुक टर्कीमा नेपालबाट धागो निकासी भइरहेकोमा टर्की सरकारले पनि तीन वर्षअघि ‘सर्कमभेन्सन’ प्रक्रिया गर्नुपर्ने भनी नेपालबाट आयात रोकेको थियो ।

यस विषयमा पनि वाणिज्य मन्त्रालयबाट सहसचिव रविशंकर सैंजुको संयोजकत्वमा वार्ता टोली गठन गरी टर्की सरकारसँग वार्ता भइसकेको छ । वार्ता पछि नेपालमा उत्पादन भएको धागोमा टर्की सरकारले सर्कमभेन्सन प्रक्रिया गर्नु पर्ने कुनै कारण नभएको भनि पत्रसमेत पठाइसकेको छ ।

भारतको पछिल्लो निर्णयबाट नेपाली व्यवसायीहरु खुसी भएको र नेपाली उत्पादनले बजार पाउन सजिलो हुने अपेक्षा गरिएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन कुमार गोल्यानले बताए ।


क्लिकमान्डु