आन्तरिक राजस्व विभागका कर्मचारीबीच कार्य सम्पादन सम्झौता



काठमाडौं । आन्तरिक राजस्व विभागमा निर्देशकहरुलाई कार्य सम्पादन सम्झौतामा बाँधिएको छ ।

नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलको रोहवरमा बिहीबार विभागका सम्बद्ध उपमहानिर्देशकहरु र निर्देशकबीच आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन सम्झौता गरिएको हो ।

अर्थमन्त्रालयको वार्षिक नीति र कार्यक्रम तथा आन्तरिक राजस्व विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, देशभर रहेका आन्तरिक राजस्व कार्यालयहरु तथा करदाता सेवा कार्यालयहरुले बार्षिक रुपमा सम्पादन गर्नुपर्ने कार्यहरु समेत समावेश गरि कार्यसम्पादन सम्झौता गरिएको हो ।

कार्यसम्पादन सम्झौतामा वार्षिक क्रियाकलाप, परिमाणात्मक रुपमा उल्लेख गरिएको उपलब्धी सूचक, मूल्यांकनका आधार तथा कार्य सम्पादन गर्नुपर्ने समय सीमा समेत उल्लेख गरिएको छ ।

यसबाट विभागका निर्देशकहरुको कार्यसम्पादन मूल्यांकन बस्तुनिष्ठ र यथार्थपरक भई काम प्रति थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै प्रकारको सम्झौता देशभर रहेका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरुसँगसमेत गरिने छ । यसअघि अर्थसचिव र आन्तरिक राजस्व विभागमा महानिर्देशक तथा महानिर्देशक र उपमहानिर्देशकबीच यस्तै प्रकारको वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न भइसकेको छ ।

विभाग अन्तर्गतको नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका प्रमुख मुक्ति प्रसाद पाण्डे, सञ्चालन महाशाखा प्रमुख आनन्द काफ्ले, अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनी र सूचना प्रविधि विज्ञ रमेश शर्मा पौडेलले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सम्झौतापछि उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले साझा जवाफदेहिता र व्यक्तिगत उत्तरदायित्वको मान्यतामा रहेर कार्यसम्पादन सम्झौता गरिएको बताए ।


क्लिकमान्डु