लाइसेन्स परीक्षाको मापदण्ड तय, एक साताभित्र परीक्षा सञ्चालन, ६ लाख आवेदक



काठमाडौं । यातायात व्यवस्था विभागले कोभिड–१९ संक्रमणको अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी मापदण्ड तय गरेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको लिखित परीक्षा र ट्रायल परीक्षा सञ्चालनका लागि सो मापदण्ड तय गरेको हो ।

मापदण्ड तय भएसँगै विभिन्न कार्यालयहरूमा एक साताभित्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

उनका अनुसार कोरोनाका कारण करिब ६ लाख सवारी चालकले आवेदन दिएका छन् । उक्त आवेदन दिए पनि हालसम्म परीक्षा भएको छैन । त्यसैले विभागले विभिन्न यातायात कार्यालयमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

विभागले तय गरेको मापदण्डमा लिखित परीक्षामा एक सिफ्टमा बढिमा १ सय जना परीक्षार्थीको परीक्षा गर्न सकिने जनाएको छ ।

त्यसमा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गराउन सकिने गरी कार्यालयको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा १०० जना परिक्षार्थीको परीक्षा गराउन सकिने उल्लेख गरेको छ ।

‘एउटा कोठामा बढिमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठूलो भएमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी २५ जनाभन्दा बढी परीक्षार्थीलाई सामेल गराउन सकिनेछ,’ जारी मापदण्ड उल्लेख छ ।

विभागले परीक्षा शुरु हुनुभन्दा अगाडि १५ मिनेट अघिमात्र परीक्षार्थीहरूलाई भिडभाड नहुने गरी परीक्षा हलमा क्रमसंख्या अनुसार प्रवेश गराउनुपर्ने जनाएको छ ।


क्लिकमान्डु