अजोडको इन्साइडर ट्रेडिङ प्रकरणमा अर्थको चासो, बोर्डलाई काट्यो पत्र



काठमाडौं । अजोड इन्स्योरेन्सको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भएको विषयमा अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले गठन गरेको अध्ययन उपसमितिले ५ महिनासम्म पनि आफ्नो प्रतिवेदन नबुझाएपछि सो विषयमा अर्थमन्त्रालयले बोर्डले जानकारी माग गरेको छ ।

अजोड इन्स्योरेन्स इन्साइडर ट्रेडिङ प्रकरणको अनुसन्धान लामो समयसम्म पनि निष्कर्षमा पुग्न नसकेको भन्दै मन्त्रालयले बोर्डलाई उक्त प्रतिवेदनबारे जानकारी गराउन भनेको छ ।

मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार मन्त्रालयले केही दिनअघि मात्र बोर्डलाई उक्त अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनबारे जानकारी गराउन भनेको हो ।

‘उक्त विषय कहाँ पुग्यो भनेर मन्त्रालयले चासो देखाएको हो । अध्ययन उपसमितिको काम र प्रतिवेदनबारे बोर्डसँग जानकारी मागिएको छ, ‘उनले भने ।

पछिल्लो समय सर्वोत्तम सिमेन्टको ओटिसी सेयर खरिद प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष र नेस्पेका सीइओ मुछिएपछि मन्त्रालयले एउटा अध्ययन समिति बनाएर इन्साइडर ट्रेडिङबारे अर्थमन्त्रालयले बिस्तृतमा अध्ययन गरिरहेको छ ।

मन्त्रालय अन्तर्गतको कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख पाराश्वर ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदलले सर्वोत्तम सिमेन्टको मात्र नभई इन्साइडर ट्रेडिङमा मुछिएको अरु कम्पनीको पनि अध्ययन थालेको हो । कार्यदलले अध्ययन थालेसँगै अजोड इन्स्योरेन्सको विषयमा पनि बोर्डसँग जानकारी मागेको हो ।

अजोड इन्स्योरेन्सको गत चैत १६ गते बसेको सञ्चालक समितिको ८७औं बैठकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव साधारण सभामा पठाउने निर्णय गरेको थियो । तर कम्पनीको सञ्चालक समितिले उक्त प्रस्ताव गरेको बारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाइ जानकारी गराउनु अघि नै सेयर मूल्यमा ठूलो अंकको वृद्धि देखिएको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै अजोडको सेयर मूल्यमा १० प्रतिशतसम्म वृद्धि भएर कारोबारमा सकारात्मक सर्किट लागेको थियो ।

हकप्रद सेयर निस्कासन गर्ने विषय सार्वजनिक हुनुअघि नै कम्पनीको सेयर कारोबारमा अस्वाभाविक वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङ भएको आशंका गरिएको थियो ।

सो विषयमा धितोपत्र बोर्डमा उजुरीसमेत परेपछि अनुसन्धानका लागि कार्यदल गठन गरिएको थियो । बोर्डले चैत १८ गते नेप्सेलाई पत्र पठाउँदै अजोड इन्स्योरेन्सको सेयर कारोबार विवरण पेश गर्न भनेको थियो । तर नेप्सेले सबै विवरण पेश नगरेपछि विस्तृतमा अध्ययन गर्न भन्दै बोर्डका निर्देशक अम्बिका गिरीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन कार्यदल बनेको थियो ।

इन्साइडर ट्रेडिङ प्रकरणपछि राष्ट्रिय बीमा समितिले अजोडको हकप्रद सेयर रोक्न निर्देशन दिएको छ । अध्ययन प्रक्रिया नसकिएका कारण हकप्रद जारी गर्ने प्रक्रिया पनि रोकिएको हो ।

यता बोर्डले गरेको अध्ययनमा कम्पनीका सम्बन्धित व्यक्तिहरु नै हकप्रदको सूचना चुहाएको आशंका गरिएको थियो । बीमा समितिले भने बोर्ड समक्ष नियामकको हैसियतमा पुँजीवृद्धिका लागि हकप्रद जारी गर्न दिने वा नदिने आफ्नो अधिकारको विषय भएको भन्दै अजोड जस्तो नयाँ कम्पनीको व्यवसाय कस्तो छ भन्ने वित्तीय विवरण सार्वजनिक नभएको भन्दै तत्कालका लागि हकप्रद जारी गर्न नदिने आफ्नो निर्णय भएको जानकारी गराएको थियो ।

बोर्डका एक अधिकारीका अनुसार उक्त प्रतिवेदनबारे अर्थमन्त्रालयलाई नियमित प्रक्रियामार्फत् नै जानकारी गराइसकिएको क्लिकमाण्डूलाई जानकारी दिए ।

‘पहिले पनि अर्थमन्त्रालयलाई जानकारी गराएको हो, अहिले पनि फेरि माग भएको छ जानकारी गराउँछौं,’ बोर्डका एक अधिकारीले भने ।


क्लिकमान्डु